भरतपुर, ६ कार्तिक ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ हजार ६३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले हालसम्म कूल १ लाख ४८ हजार ५०९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ५५२ संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौँमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित थपिएको जनाएको छ । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, लगायत विभिन्न १५ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । मनाङमा भने हाल सक्रिय संक्रमित नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल १३ लाख ५० हजार १५२ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने १५ हजार ३५५ परीक्षण भएका हुन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ४४ हजार ८७७ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १३ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी ३१ हजार ५३८ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ३ हजार ७५१ जना क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा मात्रै ९ हजार १३२ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १८ हजार १२७ जना होम आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३०२ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ । यो कूल संक्रमितको करिब ६९.२ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ४७ हजार ५७७ जना संक्रमणमुक्त भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ८१२ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ७७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने २९० जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५८ जनाको भेण्टिलेटरमा तथा १७४ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





