पोखरा, ३ कार्तिक ।
साझा पार्टी गण्डकी प्रदेशले कास्कीको संयोजकमा एकराज न्यौपानेलाई चयन गरेको छ । साझा पार्टीको हालै पुनर्गठित केन्द्रिय कार्यसमितिमा कास्कीका संस्थापक संयोजक अर्जुनप्रसाद खनाल केन्द्रीय सदस्यको रूपमा मनोनीत भएपश्चात् खाली रहेको कास्कीको नेतृत्वमा एकराज न्यौपाने आएका हुन् । यसअघि न्यौपाने साझा पार्टी कास्कीका कार्यकारिणी सदस्य थिए ।
विगत १ वर्षदेखि साझा पार्टीमा आबद्ध भएका न्यौपाने साझा पार्टीमा जोडिए लगत्तै उपनिर्वाचनका दौरान साझा पार्टीले उनलाई चुनावी फिल्ड सम्हाल्ने जिम्मेवारी सुम्पेको थियो ।
सामुदायिक सेवा केन्द्र बैदामको अध्यक्ष रहेर उल्लेखनीय सामाजिक कार्य गरेका न्यौपाने पोखराका पुराना पर्यटन व्यवसायीसमेत हुन् ।
यसैगरी साझा पार्टी गण्डकी प्रदेशको हालै सम्पन्न बैठकले आफ्नो कार्यसमितिलाई बिस्तार गरेको छ । विस्तारित कार्यसमितिमा पार्टी विधानअनुसार पदेन सदस्यको रूपमा कास्की जिल्ला संयोजक न्यौपानेलाई आवद्ध गरिएको हो भने अन्य दुई सदस्यमा युवा नेता अशोक खड्का र राजन पन्थी छन् । पोखराका विभिन्न अभियानमा नेतृत्वदायी भूमिका खेलेका खड्कालाई साझा पार्टी गण्डकी प्रदेशको अभियान विभागको प्रमुखसमेत बनाएको छ । अर्का मनोनीत सदस्य पन्थी साझा युवा संगठनको गण्डकी प्रदेशको संयोजक समेत हुन् । गण्डकी प्रदेशमा यी दुई युवाहरूको आबद्धताले युवा केन्द्रित अभियानलाई नयाँ उचाइ दिनेमा साझा पार्टी गण्डकी प्रदेश विश्वस्त छ ।
सोमबार साँझ आयोजित पदस्थापन कार्यक्रममा गण्डकी प्रदेश संयोजक महेश भण्डारी र कास्कीका संस्थापक संयोजक तथा नवमनोनीत केन्द्रिय सदस्य अर्जुनप्रसाद खनालले कास्की संयोजक न्यौपानेलाई माटोको टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रममा प्रतिबद्धता मन्तव्य राख्दै संयोजक न्यौपानेले कास्कीका ४ गाउँपालिका र प्रत्येक वडामा नेतृत्व तयार गर्ने योजना सुनाए । कार्यक्रममा गण्डकी प्रदेशको सिफारिसमा हालै पार्टीको केन्द्रीय कार्यसमितिमा आबद्ध हुनुभएका दीपक पौडेल, सरोज गौतमलगायतका नेताहरूलाई बधाई तथा शुभकामना दिइएको थियो । बडादशैंको छेकोमा आयोजित सो कार्यक्रममा केन्द्रिय सदस्य रजनी केसी र पोखरा महानगर संयोजक मनकाजी गुरुङलगायतका नेताहरूले शुभकामना तथा बधाई सन्देश दिएका थिए ।





