पछिल्लो २४ घण्टामा ३७९० संक्रमित थपिए, २३३५ डिस्चार्ज

भरतपुर, ३ कार्तिक ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसको जानकारी गराएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ संक्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौँमा २ हजार ८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएको जनाएको छ । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्लासँगै मोरङ, सुनसरी, मकवानपुर, चितवन, कास्की, रुपन्देही, दाङ, सुर्खेत र बाँकेमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । मुस्ताङ भने हाल सक्रिय संक्रमित नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल १३ लाख ९१८ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने १५ हजार ७१४ परीक्षण भएका हुन् ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ४० हजार ७७८ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २६ हजार ९२७ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ४७० जना क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ८५५ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १७ हजार २२५ जना होम आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३११ रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ । यो कूल संक्रमितको करिब ६९.५ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ४२ हजार २९७ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर १८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ७५७ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ६३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने २८२ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३८ जनाको भेण्टिलेटरमा तथा १५३ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट