भरतपुर, ३ कार्तिक।
कोभिड १९ को विषम परिस्थितिमा रगतको अभावलाई न्युनिकरण गर्ने उद्धेश्यले नारायणगढमा रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखा र ख्रीष्टिएन युवा समाज भरतपुरको संयुक्त अायोजनामा नेपाल रेडक्रस सोसाइटीको भवनमा आइतबार गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले रगतको महत्वको बारेमा धारणा राख्दै यस्तो विषम परिस्थितिमा रक्तदान कार्यक्रमको आयोजना गर्ने आयोजक र रक्तदातालाई धन्यवाद दिइन् ।
कार्यक्रममा महानगरीय ख्रीष्टिय युवा समाज भरतपुरका अध्यक्ष विकास श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाका अध्यक्ष विनय श्रेष्ठ, सचिव नारदप्रसाद परिहस्त, सन्जय राई, सुमन लुङ्गेलीलगायतको उपस्थिति थियो ।





