भरतपुर, २ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदराबाद र कोलकत्ता नाइट राइडर्स खेल्दा दोश्रो खेलमा भने मुम्बई इण्डियन्स किंग्स इलवेन पञ्जाब विरुद्ध उत्रँदैछ । पहिलो खेल अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ भने दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ७ः४५ बजे सुरु हुनेछ ।
जारी सीजनको अंकतालिकामा चौँथो स्थानमा रहेको कोलकत्ता हैदराबादलाई हराउँदै आफ्नो अंक सुधार गर्ने सोचमा हुनेछ । कोलकत्ताले ८ खेल खेल्दा समान ४ खेलमा जीत र ४ खेलमा हार बेहोरेको छ । हैदराबादले भने ८ मध्ये जम्मा ३ खेलमा जीत हात पारेको छ । प्रतियोगिताको पहिलो चरणमा यी दुईबीच भएको भेटमा कोलकत्ताले ७ विकेटको जीत हात पार्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । जारी सीजनमा कोलकत्ता खेलाडीको समायोजनमा चुकिरहेको छ भने हैदराबादलाई पनि उपल्लो क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शन टाउको दुखाइ बनेको छ । यस्तो अवस्थामा प्लेअफ खेल्ने सम्भावनालाई जीवितै राख्न दुवै टोलीलाई जीतको खोजी रहनेछ । कोलकत्ता इयोन मोर्गनको कप्तानीमा उत्रँदा हैदराबाद भने डेविड वार्नरको नेतृत्वमा मैदन उत्रँदैछ । कोलकत्ता विरुद्ध टस जित्दै हैदराबादले पहिले बलिङ गर्ने निर्णय लिएको छ ।
यस्तै अंकतालिकामा दोश्रो स्थानमा रहेको मुम्बई पञ्जाब विरुद्ध जीत निकाल्दै आफूलाई फेरि पनि शीर्ष स्थानमा लैजाने सोचमा हुनेछ । ८ खेल खेलेको मुम्बईले ६ मा जीत र २ मा हार बेहोर्न पुगेको छ । अन्तिम स्थानमा रहेको पञ्जाबको प्लेअफ खेल्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ । पञ्जाबले ८ मध्ये जम्मा २ खेलमा मात्रै जीत चाख्न पाएको छ । यद्यपि पञ्जाबले आफ्नो खेलमा सुधार ल्याउने हो भने अंकतालिकाको अन्तिम रूपरेखा केही फरक पनि देखिन सक्छ । प्रतियोगितामा मुम्बईका बलर र ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शनलाई जारी राखेकाले पञ्जाबविरुद्ध पनि मुम्बई नै हावि हुने आँकलन गरिएको छ । तर पञ्जाबको टोलीमा क्रिश गेल फर्किएसँगै उसले मुम्बईमाथि थप चुनौती पेश गर्ने पनि अपेक्षा राखिएको छ । जारी सीजनको पहिलो राउण्डमा मुम्बईले पञ्जाबमाथि ४८ रनको जीत हात पारेको थियो । मुम्बई आज पनि सोही लयलाई निरन्तरता दिने सोचमा हुनेछ ।





