दिल्लीको जीतमा पटेलको फिनिसिङ र धवनको शतक

 

भरतपुर, २ कार्तिक ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत शनिबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । निकै नै रोमाञ्चक बनेको खेलमा दिल्लीले तीन पटकको आइपिएल च्याम्पियन चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको हो । दिल्लीसँग हारेपनि चेन्नईको प्लेअफ खेल्ने सम्भावना झनै न्यून हुँदै गएको छ ।
चेन्नईले दिएको १८० रनको लक्ष्य पछ्याउन उत्रिएको दिल्लीले एक समय निकै खराब सुरुवात गरेको थियो । ओपनर पृथ्वी शाहलाई शून्य रनमा गुमाएको दिल्ली आजिक्य राहाणेको विकेट गिरेपछि थप संकटमा देखिएको थियो । तर शिखर धवनको शतकीय पारीसँगै अक्षर पटेलको सहासी ब्याटिङले दिल्लीलाई सीजनको सातौँ जीत चाख्न सहयोग ग¥यो । ५८ बलको सामना गरेका धवनले १४ चौका र १ छक्कासहित अविजित १०१ रन बनाए । धवन म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै श्रेयस अय्यर २३ रनमा आउट हुँदा मार्कस स्टोइनिसले पनि २४ रन जोडे । दिल्लीका अक्षर पटेल भने ५ बलमा २१ रन प्रहार गर्दै अविजित रहे । दिल्लीलाई अन्तिम ओभरमा जीतका लागि १७ रनको आवश्यकता परेको थियो । उक्त ओभर बलिङ गर्न आएका रविन्द्र जडेजाले पहिलो बलमा नै वाइड उपहार दिए । त्यसपछिको बलमा धवनले एक रन लिँदै पटेललाई स्ट्राइक दिएका थिए । ओभरको दोश्रो र तेश्रो बलमा पटेलले लगातार दुई छक्का प्रहार गर्दै जीतका लागि आवश्यक रनलाई ३ मा झारेका थिए । चौँथो बलमा दुई रन बटुलेका पटलले पाँचौँ बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जीत दिलाएका थिए । चेन्नईका दीपक चहरले २ तथा सेम कुरान, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १–१ विकेट लिएपनि टोलीलाई जीत भने दिलाउन सकेनन् ।
यसअघि शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रनको उच्च योगफल तयार गरेको थियो । उसका लागि फाफ डु प्लेसिसले ५८ रनको योगदान दिँदा शेन वाटसले ३६ रनको पारी खेले । त्यसैगरी अम्बाती रायुडु ४५ रनमा नट आउट रहँदा बायाँहाते रविन्द्र जडेजाले पनि अविजित ३३ रनको योगदान गरे । चेन्नईका ओपनर सेम कुरान डक आउट हुँदा कप्तान महेन्द्र सिंह धोनीले जम्मा ३ रन बनाउन सके । बलिङतर्फ भने आरिच नोकियाले २ विकेट हात पार्दा तुसार देशपाणे र कागिसो रबाडाले पनि १–१ विकेट झारे ।
जीतसँगै दुई अंक बटुलेको दिल्ली कूल १४ अंकसहित पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिगमा हालसम्म ९ खेल खेलेको दिल्लीले ७ खेलमा जीत हात पारेको छ भने दुई खेलमा हार भोग्न पुगेको छ । उता समान ९ खेल खेलेको चेन्नईको भने यो छैटौँ हार हो । जारी सीजनमा जम्मा ३ खेल जितेको चेन्नई ६ अंकमा तालिकाको छटौँ स्थानमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट