रत्ननगर, २ कार्तिक ।
पर्यटकीय क्षेत्र रत्ननगर सौराहाको बद्रेनिमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । हात्ती प्रजनन केन्द्र जाने बाटोमा रहेको बुढीराप्ती खोलामा शनिबार झुलुङ्गे पुलको शिलान्यास गरिएको हो । यसअघि हात्तीसार पुग्न पर्यटकरूले खोलामा बालुवाका बोरा चिनेर बनाइएको बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्थ्यो ।
एक करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुलको चितवन क्षेत्र नम्बर १ ख का सांसद कृष्ण खनालले शिलान्यास गरे । पुल आगामी वैशाखसम्ममा निर्माण सम्पन्न हुने गरी काम सुरु भएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जनाकारी दिए । पुल १६७ फिट लम्बाई र ४ फिट चौडाईको हुने जनाइएको छ ।
पर्यटकीय क्षेत्रमा निर्माण हुन लागेको पुलले पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजन भट्टले बताए । यस्तै प्रदेश सांसद खनालले पनि प्रदेश सरकारले पर्यटन प्रर्वद्धनमा प्राथमिकता दिँदै आएको उल्लेख गरेका थिए । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तु संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न प्रत्येक पालिकाहरूमा कंक्रिट वाल निर्माणको काम भइरहेको पनि सांसद खनालले बताए ।
पुल शिलान्यास कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितबहादुर तमाङ्ग, पुलका प्राविधिक शेखर रायमाझी, नेकपा नगर अध्यक्ष कुलप्रसाद लामिछाने, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वक्तहरूले विकास निर्माणको काममा सबैले चासो दिएर निगरानी गर्नुपर्नेमा जोड दिएका थिए ।





