बेंगलोरको जीतमा डेभिल्लर्स नायक

भरतपुर, १ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा बेगलोरले राजस्थानलाई दोश्रो पटक पराजित गरेको हो ।

राजस्थानले दिएको १७८ रनको उच्च लक्ष्य बेंगलोरले खेल सकिन २ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टाएको हो । बेंगलोरलाई लक्ष्यको पार लैजान एबी डेभिल्लर्सले अर्धशतकीय पारी खेलेका थिए । २२ बलमा नट आउट ५५ रन बनाएका डेभिल्लर्सले ६ छक्का र १ चौका प्रहार गरेका थिए । डेभिल्लर्स म्यान अफ दि म्याच समेत बने । यस्तै कप्तान विराट कोहलीले ४३ रन बनाउँदा देवदत्त पदिकाल ३५ र एरोन फिन्च १४ रनमा आउट हुन पुगे । बेंगलोरकै गुरकिरतमान सिंह भने १९ रनमा अविजित रहे । राजस्थानका तर्फबाट राहुल तेवतिया, श्रेयस गोपाल र कार्तिक त्यागीले समान १–१ विकेट लिएपनि टोलीलाई जीत दिलाउन भने सकेनन् ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७७ रनको योगफल तयार गरेको थियो । उसका लागि पारीको ओपन गर्न आएका रोबिन उथप्पाले ४१ रनको योगदान गरे । २२ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । राजस्थानका कप्तान स्टिभ स्मीथ ५७ रन बनाएर आउट हुँदा जोस बटलरले २४ तथा बेन स्टोक्सले १५ रन बटुले । राजस्थानका लागि किंग्स इलवेन पञ्जाब र सनराइजर्स हैदाराबाद विरुद्ध जिताऊ पारी खेलेका राहुल तेवतियाले पनि ११ बलमा नट आउट १९ रनको योगदान दिए । बलिङतर्फ भने बेंगलोरका क्रिश मोरिसले सर्वाधिक ४ विकेट लिँदा स्पीनर यजुवेन्द्र चहलले पनि २ विकेट हात पारे ।

जीतसँगै बेंगलोरले आफ्नो पोल्टामा दुई अंक जोडेको छ । आफूले खेलेका ९ खेलमध्ये ६ मा जीत र ३ मा हार बेहोरेको बेंगलोर कूल १२ अंकमा तालिकाको तेश्रो स्थानमा रहेको छ । पहिलो स्थानको मुम्बई इण्डियन्स र दोश्रो स्थानको दिल्ली क्यापिटल्सको पनि १२ अंक रहेको छ । यद्यपि मुम्बई र दिल्ली नेट रन रेटको मामलामा बेंगलोरभन्दा अगाडि रहेका छन् । ९ खेल खेल्दा जम्मा ३ खेलमा जीत हात पारेको राजस्थान भने ६ अंकसहित तालिकाको सातौँ स्थानमा यथावत रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट