महिलामाथि हुने हिंसाको विरोधमा भरतपुरमा शान्तिपूर्ण प्रदर्शन

भरतपुर, १ कार्तिक ।

चितवनमा क्रियाशील रहेको क्रान्तिकारी एवम् प्रगतिशील महिला संगठनले महिलामाथि हुने हिंसाको विरुद्धको जुलुस सम्पन्न गरेको छ । संगठनको नेतृत्वमा शुक्रबार भरतपुरको चितवन मेडिकल कलेज अस्पताल अगाडिबाट सुरु भएको विरोध जुलुस चौबिसकोठी पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसका सहभागीहरूले महिलामाथि जघन्य अपराध गर्ने जोकोहीलाई पनि कारवाहीको दायारामा ल्याउनुपर्ने माग राखेका थिए ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीले महिला हिंसा, बलात्कार तथा हत्याका घटना शृङ्खलाबद्ध रूपमा बढ्न थालेको भन्दै कतिपय मुद्दामा सरकार आफैंले अपराधीलाई संरक्षण गर्ने गरेको आरोप लगाइन् । महिला बलात्कृत भएपछि पनि विभिन्न न्यायिक निकायमा बयानको क्रममा पटकपटक अपमानित बन्नुपर्ने घटना झन् पीडादायी हुने उनले बताइन् । “महिलामुक्तिको समस्या मूलतः राजनैतिक समस्या भएकाले त्यसको सम्बन्ध सत्ता र व्यवस्था सँग हुने हुन्छ । त्यसैले पनि सत्ता र व्यवस्था परिवर्तनको खाँचो रहेको छ”, अध्यक्ष मुडभरीले बताइन् । क्रान्तिको सबैभन्दा बढी आवश्यकता महिला र उत्पीडितहरूलाई रहेकाले संघर्षको मैदानमा अग्रपंक्तिमा आउन पनि उनले महिलाहरूलाई आग्रह गरिन् ।

गृहमन्त्री रामबहादुर थापाले नेपालमा बलात्कारको दर अन्य देशमा भन्दा कम रहेको भनी दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले राज्यकै आडमा अपराधहरू हुने गरेको कुरालाई पुष्टि गरेको मुडवरीले बताइन् । आफूमाथि हुनसक्ने हिंसाका बारेमा अवगत हुँदै महिलाहरूले आत्मसुरक्षा र प्रतिरक्षाको उपाय सोच्न जरुरी रहेको उनले बताइन् ।

विरोध कार्यक्रममा अखिल नेपाल प्रगतिशील महिला संघकी केन्द्रीय सदस्य पार्वती महतो कुमालले पनि राज्यको आडमा महिलामाथि विभिन्न खालका हिंसा हुनु निकै नै दुःखद रहेको बताइन् । त्यस्ता अपराधलाई अन्त्य गर्न महिलाहरू एकताबद्ध हुनुपर्ने भनाइ उनले राखिन् ।

अखिल नेपाल महिला संघकी मीना पौडेलले महिलाहरूमाथिको उत्पीडन राजनीतिक र न्यायिक लगयता हरेक क्षेत्रमा भएको वताउँदै महिलाहरू आफै सक्षम र संगठित हुनुपर्ने बताइन् । उता वैज्ञानिक समाजवादी महिला संगठनकी केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले महिला राष्ट्रपति भएको देशमा त्यस प्रकारका घटना हुनु लज्जास्पद कुरा भएको उल्लेख गरिन् ।

जुलुस अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, अखिल नेपाल प्रगतिशील महिला संघ, वैज्ञानिक समाजवादी महिला संगठनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । जुलुसमा महिलासँगै पुरुषहरूको समेत उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट