भरतपुर, ३० असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसको जानकारी गराएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ४०२ संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौँमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना संक्रमित थपिएको जनाएको छ । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्लासँगै मोरङ, सुनसरी, मकवानपुर, चितवन, रुपन्देही, दाङ, सुर्खेत र बाँकेमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल १२ लाख ५४ हजार १६७ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १६ हजार ५३१ वटा परीक्षण भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ३७ हजार ३८२ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १२ हजार २२६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४६ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ८०८ जना क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ६२३ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १५ हजार ९६८ जना होम आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३११ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने ३ हजार ५२२ रहेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ । यो कूल संक्रमितको करिब ६९.८ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ३७ हजार २१३ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर २१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ७१५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ७७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ३१५ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५८ जनाको भेण्टिलेटरमा तथा १७० जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





