भरतपुर, ३० असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट अन्तर्गत पछिल्लो खेलमा किंग्स इलवेन पञ्जाब विजयी भएको छ । बिहीबार राति सम्पन्न खेलमा उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले हराएको हो । जारी प्रतियोगिताको पहिलो लिग चरणको खेलमा पनि पञ्जाबले बेंगलोरलाई हराएको थियो ।
बेंगलोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले पारीको अन्तिम बलमा २ विकेट गुमाउँदै भेट्टाएको हो । पञ्जाबको लागि कप्तान लोकेश राहुलले सर्वाधिक ६१ रनको अविजित पारी खेलेका थिए । ४९ बल खेलेका उनले ५ छक्का र १ चौका प्रहार गरे । राहुल म्यान अफ दि म्याच समेत घोषित भए । त्यस्तै सीजनको पहिलो खेल खेलिरहेका क्रिश गेलले पनि ५३ रनको योगदान दिए । उनले पनि ५ छक्का र १ छक्का प्रहार गरे । पञ्जाबका अर्का ओपनर मयंक अग्रवाल ४५ रनमा आउट हुँदा निकोलश पुरान भने ६ रनमा नट आउट रहे । पञ्जाबलाई जीतका लागि अन्तिम ६ बलमा २ रन चाहिएकामा बेंगलोरका यजुवेन्द्र चहलले कसिलो बलिङ गरेका थिए । चहलले ओभरको पहिलो दुई बलमा डट बल फ्याँकेका थिए । तेश्रो बलमा राहुल र गेलले १ रन चोरेपनि त्यसपछिको बलमा चहलले फेरि डट बल फ्याँकेका थिए । पाँचौँ बलमा क्रिश गेल रन आउट हुन पुग्दा पञ्जाबलाई अन्तिम बलमा एक रन बनाउनुपर्ने थियो । अन्तिम बल खेल्न आएका पुरानले छक्का प्रहार गरेर टोलीलाई जीत दिलाएका थिए । बेंगलोरका लागि चहलले मात्रै एक विकेट लिए ।
यसअघि युएईस्थित शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रनको योगफल तयार गरेको थियो । उसका लागि कप्तान विराट कोहलीले ४८ रनको योगदान गर्दा ओपनर एरोन फिन्च २० रन बनाएर आउट भए । दायाँ र बायाँ हाते ब्याट्सम्यानको तालमेल मिलाउन एबी डेभिल्लर्सलाई छैटौँ क्रममा ब्याटिङ गर्न पठाउने रणनीति पनि बेंगलोरका लागि फ्लप साबित भयो । डेभिल्लर्स भन्दा अघिल्लो क्रममा ब्याटिङ गर्न आएका वासिन्टन सुन्दर १३ रन बनाएर आउट हुँदा शिवम् दुबेले पनि २३ रन मात्रै जोड्न सके । पञ्जाब विरुद्ध डेभिल्लर्स भने जम्मा २ रनको स्कोरमा आउट भए । तल्लो क्रमका क्रिश मोरिस र इसुरु उडानले अन्त्यमा विष्फोटक ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । मोरिसले ८ बलमा नट आउट २५ रन जोड्दा उडानले ५ बलमा अविजित १० रनको पारी खेले । यी दुईले मोहम्मद समीद्वारा फ्याँकिएको पारीको २०औँ ओभरमा २४ रन चोर्न सफल भएका थिए । पञ्जाबको तर्फबाट समी र मुरुगन अश्विनले समान २–२ विकेट चट्काउँदा अर्सदीप सिंह र क्रिश जोर्डानले पनि १–१ विकेट लिए ।
जीतसँगै पञ्जाबले दुई अंक हात पारेको छ । कूल ८ खेलमा दोश्रो खेल जित्दै उसले ४ अंक बटुलेको छ । अंकतालिकामा अन्तिम स्थानमा रहेको पञ्जाबले प्ले अफ चरण पुग्न बाँकी सबै खेल जित्नुपर्नेछ भने साथमा अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्नेछ । उता प्रतियोगितामा तेश्रो हार बेहोरेको बेंगलोर भने तालिकामा तेश्रो स्थानमा यथावत रहेको छ । कूल ८ मध्ये ५ खेलमा जीत हात पारेको उसको १० अंक रहेको छ ।





