भरतपुर, २९ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसको जानकारी गराएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३५ संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौँमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जना संक्रमित थपिएको जनाएको छ । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्लासँगै मोरङ, सुनसरी, मकवानपुर, चितवन, रुपन्देही, दाङ, सुर्खेत र बाँकेमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल १२ लाख ३७ हजार ६३६ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १६ हजार ५९८ वटा परीक्षण भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ३६ हजार ५३३ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ८२५ जना क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ७९३ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १५ हजार २२८ जना होम आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३१२ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने ३ हजार ५६४ रहेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । यो कूल संक्रमितको करिब ६९.७ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ३४ हजार ९८४ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ६९४ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ६८ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ३१४ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५६ जनाको भेण्टिलेटरमा तथा १७५ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





