चितवन, २९ असोज ।
चितवनको कालिका नगरपालिकास्थित सिद्धीका स्थानीयको आयआर्जनका लागि मौरीको घार वितरण गरिएको छ । कालिका नगरपालिकाको सहकार्यमा सौराहास्थित सपना भिलेज सोसियल इम्प्याक्टले बिहीवार ६ युवालाई झण्डै १४ लाख रुपैयाँ बाराबरका मौरीका घार वितरण गरेको हो । कालिका वडा नम्वर १० का नरबहादुर तामाङ, कविराज तामाङ र सूर्य वहादुर सुनार तथा कालिका ११ का प्रदीप चेपाङ, मित्रलाल चेपाङ र बुद्धिबहादुर तामाङलाई प्रति व्यक्ति २० घारका दरले मौरी वितरण गरिएको सपना भिलेज सोसियल इम्प्याक्टका परियोजना अधिकृत अनिल अर्यालले बताए ।
प्रति घार ११ हजार ६ सय रुपैयाँमा खरिद गरेर उनीहरूलाई वितरण गरिएको अर्यालले जानकारी दिए । सोसियल इम्प्याक्टले सिद्धीमा तीन वर्ष परियोजना सञ्चालन गरिसकेको छ । परियोजनाको अवधि सकिएको भएपनि त्यहाँका स्थानीयको आयआर्जनका लागि मौरीका घार वितरण कार्यलाई निरन्तरता दिइएको सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले वताए । अघिल्लो वर्ष पनि सिद्धीका १० जना युवाहरूलाई प्रति व्यक्ति दश ओटै घारका दरले मौरी वितरण गरिएको थियो । वितरण गरिएका मौरीलाई बिस्तार गरी व्यावसायिक वनाउन वडा कार्यालय, सपना भिलेज सोसियल इम्प्याक्ट र किसानबीच त्रिपक्षीय सम्झौता समेत गरिएको छ । सम्झौतानुसार हाल मौरी पाएका किसानले तीन वर्ष भित्र २० घार मौरी नै फिर्ता गर्नुपर्नेछ ।
फिर्ता गरिएको मौरी त्यसै क्षेत्रका अन्य किसानहरूलाई वडा कार्यालयको सिफारीस अनुसार फेरि वितरण गरिने जनाइएको छ । वितरण गरिएका मौरी लापरवाहीले क्षति भएमा तेश्रो पक्ष वा सम्बन्धित किसानसँग असुलउपर गरिने सम्झौतामा उल्लेख छ । सपना भिलेज सोसियल इम्प्याक्टले सिद्धीको परियोजना सम्पन्न गरेर जिल्लाकै इच्छाकामना गाउपालिकाको वडा नं १ मा पनि सोही प्रकृतिको परियोजनाको थालनी गरेको छ ।





