भरतपुर, २९ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी क्रिकेट अन्तर्गत बुधबार खेलिएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । उसले राजस्थान रोयल्सलाई १३ रनले हराउँदै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको हो ।
दिल्लीले जीतका लागि प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउन उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । ब्याटिङमा अधिकांश समय आफ्नो प्रभाव राखेको राजस्थान अन्तिम समयमा सम्हालिन नसक्दा हार बेहोर्न बाध्य भएको हो । राजस्थानका लागि ओपनर जोश बटलरले ९ बलमा २२ रन जोड्दै टोलीलाई सुन्दर सुरुवात दिलाएका थिए । बटलरसँगै पारी ओपन गर्न आएका बेन स्टोक्सले ४१ रन बनाएर आउट हुँदासम्म राजस्थानले खेल जित्ने लगभग तय भइसकेको थियो । ३५ बल खेलेका उनले ६ चौका प्रहार गर्दै आक्रमक खेल पस्किएका थिए । स्टोक्स आउट हुँदा राजस्थानलाई खेल जित्न ५६ बलमा ७६ रनको आवश्यकता परेको थियो ।
त्यसपछि सञ्जु सेमसन २५ रन बनाएर आउट भए भने रोबिन उथप्पाले पनि ३२ रनको पारी खेले । राजस्थानको पारीको अठारौँ ओभर बलिङ गर्न आएका आन्रिच नोकियाले त्यसपछि खेलको पासा नै पल्टाइदिए । उक्त ओभरमा उथप्पालाई आउट पादै उनले जम्मा ४ रन खर्चिए । त्यसपछि क्रमशः १९औँ र २०औँ ओभर फ्याक्न आएका कागिसो रबाडा र तुसार देशपाडेले पनि एक–एक विकेट लिएर राजस्थानलाई हारसम्म पु¥याएका थिए । यसअघि सनराइजर्स हैदराबाद र किंग्स इलवेन पञ्जाब विरुद्धको खेलमा नायक साबित बनेका राजस्थानका राहुल तेवतियाले पनि दिल्ली विरुद्ध जादु देखाउन भने सकेनन् । १८ बलको सामना गरेका तेवतिया १४ रनमा नट आउट रहे । दिल्लीका लागि पहिलो खेल खेलिरहेका देशपाडेले दुई विकेट लिँदा आरिच नोकियाले पनि समान २ विकेट हात पारे । नोकिया म्यान अफ दि म्याच समेत घोषित भए । त्यसै गरी कागिसो रबाडा, रविचन्द्रन अश्विन र अक्षर पटेलले पनि एक–एक विकेट चट्काए ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि ओपनर शिखर धवनले ५७ रनको योगदान गर्दा कप्तान श्रेयस अय्यरले पनि ५३ रनको पारी खेले । अर्का ओपनर पृथ्वी शाह गोल्डेन डक आउट भएको खेलमा आजिक्य राहाणे २ तथा अक्षर पटेल ७ रनको स्कोरमा आउट भए । यस्तै मार्कस स्टोइनिसले १८ तथा एलेक्स क्यारीले १४ रन जोड्दै टोलीलाई मध्यम योगफलसम्म पु¥याएका थिए । बलिङमा भने जोफरा आर्चरले ३, जयदेव उनदकदले २ तथा कार्तिक त्यागी र श्रेयस गोपालले समान १–१ विकेट लिए ।
जीतसँगै दिल्लीले दुई अंक हात पारेको छ । आफूले खेलेका ८ मध्ये ६ खेल जित्दै ऊ १२ अंकमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ८ खेल खेलेको राजस्थानको भने जम्मा ६ अंक छ । प्रतियोगितामा ३ जीत र ५ हार बेहोरेको ऊ अंकतालिकामा सातौँ स्थानमा रहेको छ ।





