हैदराबादमाथि चेन्नईको प्रभावशाली जीत

भरतपुर, २८ असोज ।

इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले हैदराबादमाथि जीत हात पारेको छ । लिगको दोश्रो चरणको पहिलो खेल खेल्ने क्रममा चेन्नईले हैदराबादलाई २० रनले हराएको हो ।

चेन्नईले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । हैदराबादका लागि केन विलियमसनले सर्वाधिक ५७ रन बनाएपनि अन्य ब्याट्सम्यानको साथ भने उनीसँग रहन सकेन । कप्तान डेविड वार्नर ९ रनमा आउट भए भने मनिष पाण्डेले ४ रन मात्रै जोड्न सके । ओपनर जोनी बेयरस्टोले २३ रन बनाएर आउट हुँदा प्रियम गर्ग र विजय शंकर पनि क्रमशः १६ र १२ रनको स्कोरमा प्याभिलियन फर्किए । यस्तै रसिद खानले विलियम्सनसँग मिलेर हैदराबादलाई लक्ष्यसम्म पु¥याउने कोसिस गरेका भएपनि सफल भने हुन सकेनन् । ८ बलमा १४ रन बटुलेका खान सार्दुल ठाकुरको बलमा हिट विकेट हुन पुगेका थिए । हैदराबादलाई अन्तिम ओभरमा खेल जित्न २२ रन चाहिएकामा ड्वेन ब्राभोले उत्कृष्ट योर्कर बल फाल्दै हैदराबादका तल्लो क्रमका ब्याट्सम्यानलाई रन बनाउनबाट रोकेका थिए । चेन्नईका तर्फबाट ब्राभोले दुई विकेट चट्काउँदा कर्ण शर्माले पनि दुई विकेट हात पारे । त्यसैगरी सेम कुरान, रवीन्द्र जडेजा र सार्दुल ठाकुरको नाममा पनि एक–एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको चेन्नईले ६ विकेट गुमाउँदै १६७ रनको योगफल तयार पारेको थियो ‌। चेन्नईलाई उच्च योगफलसम्म लैजान शेन वाट्सन र अम्बाती रायुडुले बलियो आधार तयार पारेका थिए । रायुडुले ४१ रन जोड्दा वाट्सनले भने ४२ रनको योगदान दिए । यी दुईले तेश्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । यस्तै पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका कप्तान महेन्द्र सिंह धोनीले पनि १३ बलमा २१ रनको योगदान दिए । पारीको अन्तिममा नट आउट रहेका रवीन्द्र जडेजाले भने १० बलमा ३ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे । चेन्नईका लागि पारी ओपन गर्न पुगेका सेम कुरानले २१ बलमा ३१ रनको महत्त्वपूर्ण पारी खेले । अर्का ओपनर ब्याट्सम्यान फाफ डु प्लेसिस शून्य रनमा आउट हुँदा अलराउण्डर ड्वेन ब्राभो पनि खातै नखोली प्याभिलियन फर्किएका थिए । बलिङतर्फ भने हैदराबादका खलिल अहमद, सन्दीप शर्मा र टि नटराजनले समान २-२ विकेट लिए । खेलमा म्यान अफ दि म्याच पुरस्कार भने चेन्नई सुपर किंग्सका अलराउण्डर रवीन्द्र जडेजाले प्राप्त गरे ।

जीतसँगै चेन्नईले थप दुई अंक बटुलेको छ । उसले ८ मध्ये ३ खेलमा जीत हात पार्दा ५ खेलमा पराजित हुन पुगेको छ । ऊ कूल ६ अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । उता ८ खेलमा ३ जीत र ५ हारको नतिजा निकालेको हैदराबादको पनि समान ६ अंक रहेको छ । यद्यपि नेट रन रेटका आधारमा चेन्नईभन्दा अगाडि रहँदै ऊ अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट