भरतपुर, २६ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार राति ७ः४५ बजे युएईको शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रतियोगितामा कोलकत्ताले ६ खेलमा ४ जीत र २ हार बेहोर्दै कूल ८ अंक जोडेको छ । समान ६ खेल खेलेको बेंगलोरले पनि ४ मा जीत र २ मा हार भोगेको छ । यद्यपि नेट रन रेटका कारण अंकतालिकामा कोलकत्ता बेंगलोरभन्दा एक स्थानमाथि तेश्रो नम्बरमा रहेको छ । पछिल्लो खेलमा चेन्नई विरुद्ध शानदार पारी खेल्दै आफ्नो लयमा फर्किएका कप्तान विराट कोहली आज पनि बेंगलोरको प्रमुख हतियार हुनेछन् । यद्यपि बेंगलोरलाई ओपनर एरोन फिन्चको खराब फर्मले भने पक्कै पनि चिन्ता थोपरेको हुनेछ । अर्का ओपनर देवदत्त पदिकालमाथि पनि टोलीको भरोसा रहनेछ । एबी डि भिल्लर्ससँगै शीर्ष क्रमका चार ब्याट्सम्यानलाई रोक्नु कोलकत्ताका लागि त्यति सहज भने हुने छैन ।
शारजाहको सानो मैदानमा सक्दो रन बनाउन कोलकत्ता मुख्यतः राहुल त्रिपाठी, शुभमन गील, कप्तान दिनेश कार्तिक र इयोन मोर्गनमा भर पर्नेछ । विगतका सीजनमा बल र ब्याट दुवैबाट चम्किएका सुनिल नरैनले यस पटक भने आशालाग्दो प्रदर्शन गर्न सकेका छैनन् । छ खेलबाट उनले जम्मा ५ विकेट लिएका छन् । फेरि अपेक्षा गरिएका अलराउण्डर आन्द्रे रसेलले पनि कोलकत्ताका लागि खासै रन जोड्न सकेका छैनन् । उनले पाँच पारीमा जम्मा ५५ रन मात्रै जोड्न सकेका छन् । अतः प्रतियोगितामा पुनरागमन गर्न पनि रसेल र नरैनले बेंगलोर विरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न जरुरी छ । कोलकत्ता र बेंगलोर दुवैसँग विग हिटर रहेकाले शारजाहको मैदानमा बलर महँगा रहने अनुमान पनि गर्न सकिन्छ । यस्तोमा बलरहरूलाई थप चुनौती थपिनेछ । कोलकत्ताको खेमामा प्याट कमिन्स शिवम् मावी, वरुण चक्रवर्ती र कमलेश नगरकोटी जस्ता बलर रहँदा बेंगलोर भने वासिन्टन सुन्दर, शिवम् दुवे, नवदीप सैनी, इसुरु उडाना र यजुवेन्द्र चहलमाथि निर्भर रहनेछ । यी दुई टोली हालसम्म २४ पटक आमनेसामने भइसकेका छन् । जसमा १४ खेल कोलकत्ताले जितेको छ भने बाँकी १० खेलमा बेंगलोरले बाजी मारेको छ ।
जारी प्रतियोगितामा यो खेल सम्पन्न भएसँगै सबै टोलीले ७७ खेल खेलेका हुनेछन् भने लिगको पहिलो चरणको पनि अन्त्य हुनेछ । मंगलबारबाट भने लिगको दोश्रो चरणका खेल सुरु हुनेछन् जहाँ ८ फ्रेन्चाइज टोलीले फेरि पनि एकआपससँग खेल्नेछन् ।





