भरतपुर, २६ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार २८३ संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौँमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना संक्रमित थपिएको जनाएको छ । यस्तै अन्य जिल्लाहरूमा बाँकेमा ४५, मोरङमा २२३, चितवनमा ७७, सुनसरीमा २४९, सुर्खेतमा १०१, मकवानपुरमा ७५ र रुपन्देहीमा १२५ जना संक्रमित थपिएका छन् । माथि उल्लेख गरिएका जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो एक दिनमा धादिङमा १२ र नवलपुरमा पनि ६५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मनाङमा मात्रै सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट हालसम्म कूल ११ लाख ९१ हजार ५१४ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १४ हजार ५३० वटा परीक्षण भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ३३ हजार ८८० पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी १९ हजार ९५७ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ८३१ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ८ हजार ८५४ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १३ हजार ४८९ जना होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३८३ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ४७३ रहेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । यो कूल संक्रमितको करिब ६९.१ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म २९ हजार ३८९ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मन्त्रालयले जनाएअनुसार मृतकमध्ये २ जना महिला हुन् भने ७ जना पुरुष हुन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ६४५ पुगेको छ । पछिल्लो एक दिनमा वाग्मती प्रदेशमा मात्रै ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ६७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने २७९ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४६ जनाको भेण्टिलेटरमा तथा १५५ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





