भरतपुर, २५ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी अन्तर्गत आइतबार खेलिएको दोश्रो खेलमा मुम्बई इण्डियन्सले जीत दर्ता गराएको छ । उक्त खेलमा उसले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको हो । दिल्लीले दिएको १६३ रनको लक्ष्य मुम्बईले खेल सकिन दुई बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि बायाँहाते ओपनर क्विन्टन डि ककले ५३ रनको योगदान गरे । ३६ बलको सामना गरेका उनले ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई सकारात्मक सुरुवात दिलाएका थिए । उनी म्यान अफ दि म्याच समेत घोषित भए । यस्तै तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका सूयकुमार यादवले पनि आफ्नो लयलाई जारी राख्दै ३२ बलमा ५३ रन जोडे । यस्तै इशान किशनले २८ रनको पारी खेल्दा क्रुनाल पाण्डेय र किरोन पोलार्ड भने क्रमशः १२ र ११ रनमा नट आउट रहे । मुम्बईबाट १५०औँ खेल खेलिरहेका कप्तान रोहित शर्मा ५ रनमा आउट हुँदा २७औँ जन्मदिन मनाइरहेका हार्दिक पाण्डेय शून्यको स्कोरमा प्याभिलियन फर्किए । दिल्लीका तर्फबाट कागिसो रबाडाले २ विकेट हात पार्दा अक्षर पटेल, रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले १–१ विकेट लिए । खेलका दौरान रबाडाले आफ्नो नाममा लगातार २१ आइपिएल खेलमा न्यूनतम एक विकेट लिने कीर्तिमान् समेत लेखाएका थिए ।
यसअघि अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो । उसका लागि बायाँहाते ओपनर ब्याट्सम्यान शिखर धवनले ५२ बलमा अविजित ६९ रनको पारी खेले । दिल्लीले अर्का ओपनर पृथ्वी शाहलाई ४ रनको स्कोरमा गुुमाएको थियो । दिल्लीलाई स्वस्थ योगफलसम्म लैजान धवनले आफ्नो खातामा १ छक्का र ६ चौका समेत लेखाएका थिए । उनीसँगै ९ बल खेलेका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले पनि नट आउट रहँदै १४ रन जोडे । दिल्लीका कप्तान श्रेयस अय्यरले ४२ रन बनाएको खेलमा आजिक्य राहाणे १५ तथा मार्कस स्टोइनिस १३ रन बनाएर आउट भए । धवन र अय्यरबीच तेश्रो विकेटका लागि ८५ रनको साझेदारी भएको थियो । यस्तै क्यारीसँग पनि धवनले छैटौँ विकेटका लागि नट आउट ३२ रनको साझेदारी निभाएका थिए ।
जीतसँगै २ अंक हात पारेको मुम्बई अंकतालिकामा फेरि शीर्ष स्थानमा उक्लिन सफल भएको छ । ७ खेलमा ५ जीत र २ हार बेहोरेको मुम्बईको १० अंक रहेको छ । समान ७ खेलमा २ हार ५ जीत हात पारेको दिल्लीको पनि १० अंक रहेको छ । नेट रन रेटका आधारमा ऊ तालिकाको दोश्रो स्थानमा झरेको छ ।





