नेपालमा एकै दिन सर्वाधिक २२ जना संक्रमितको मृत्यु

भरतपुर, २५ असोज ।

पछिल्लो २४ घण्टामा देशभर २२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । यो हालसम्म एकै दिनमा पुष्टि भएको सर्वाधिक मृतकको संख्या हो । मन्त्रालयले जनाएअनुसार मृतकमध्ये ५ जना महिला हुन् भने १७ जना पुरुष हुन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ६३६ पुगेको छ । पछिल्लो एक दिनमा वाग्मती प्रदेशमा मात्रै १४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ संक्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौँमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित थपिएको जनाएको छ । यस्तै अन्य जिल्लाहरूमा बाँकेमा २०, मोरङमा ३, चितवनमा ३, सुनसरीमा ०, सुर्खेतमा २ र रुपन्देहीमा ९८ जना संक्रमित थपिएका छन् । माथि उल्लेख गरिएका जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो एक दिनमा धादिङमा ६, नवलपुरमा ३ र मकवानपुरमा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मनाङ र मुस्ताङ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।मन्त्रालयले हालसम्म पीसीआर विधिबाट हालसम्म कूल ११ लाख ७४ हजार ९८४ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १२ हजार ४२७ वटा परीक्षण भएका छन् ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ३१ हजार ३१५ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी १७ हजार ६६६ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ६१३ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ९ हजार ३०८ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने ११ हजार ५२१ जना होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या भने १ हजार ५५२ रहेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कूल संक्रमितको करिब ७०.३ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म २८ हजार ३०७ जना संक्रमणमुक्त भइसकेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ७६ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ३२९ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५५ जनाको भेण्टिलेटरमा तथा २०२ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट