भरतपुर, २५ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दा दोश्रो खेलमा भने दिल्ली क्यापिटल्स र डिफेण्डिङ च्याम्पियन मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुने खेलमा राजस्थान र हैदराबाद दुवै जीतको खोजीमा हुनेछन् । लिगको अंकतालिकामा ६ अंक हात पार्दै पाँचौँ स्थानमा रहेको हैदराबादले ६ खेलमा ३ जीत र ३ हार बेहोरेको छ । सातौँ स्थानमा रहेको राजस्थानको भने ६ खेलबाट जम्मा ४ अंक छ । उसले सुरुवाती दुई खेल जितेपनि त्यसपछिका ४ खेलमा लगातार हार बेहोर्न पुगेको छ । राजस्थानका लागि प्रतियोगिताको अन्तिम चरणमा पुग्न बाँकी सबै खेलमा उत्कृष्ट प्रदर्शनको खाँचो परेको छ । तर उसका कप्तान स्टिभ स्मीथ र विकेटकिपर ब्याट्सम्यान सञ्जु समेसनले आफ्नो गुमाउन पुग्दा राजस्थानले सोचेअनुरूप खेल्न सकेको छैन । यता डेविड वार्नर नेतृत्वको हैदराबाद पनि महत्त्वपूर्ण समयमा खेलाडीको समायोजन गर्न नजान्दा जीतका लागि जुझिरहनु परेको छ ।
हैदराबादका लागि जोनी बेयरस्टो र केन विलयम्सनले सुन्दर प्रदर्शन गरिरहेका भएपनि मध्यक्रममा उत्रने अन्य खेलाडीले खासै प्रभाव जमाउन सकेका छैनन् । अफगानी स्पिनर रसिद खानको उपस्थितिले भने उसमा केही ऊर्जा थपिएको छ । उनले हैदराबादका लागि ६ खेलमा ८ विकेट लिइसकेका छन् । हालै मात्र क्वारेन्टिन अवधि सकेर टोलीमा फर्किएका अलराउण्डर बेन स्टोक्सबाट राजस्थानले ठूलै योगदानको अपेक्षा राखेको छ । बल र ब्याट दुबैबाट उत्कृष्ट खेल पस्कने सामथ्र्य भएका स्टोक्सको आगमन राजस्थानका लागि पक्कै पनि टर्निङ प्वाइन्ट साबित बन्न सक्छ । हैदराबाद र राजस्थानबीच हालसम्म ११ वटा खेल भएका छन् । जसमा ६ खेल हैदराबादले जितेको छ भने ४ खेलमा राजस्थानले बाजी मारेको छ ।
आजै मुम्बई र दिल्लीबीचको खेल अबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुँदैछ । लिगको अंकतालिकामा दिल्ली र मुम्बई क्रमशः पहिलो र दोश्रो स्थानमा रहेकाले पनि यो खेललाई महत्त्वका साथ हेरिएको छ । ६ खेलमा ५ जीत र १ हारको नतिजा निकालेको दिल्लीको १० अंक छ भने ६ खेलबाटै ४ जीत र २ हार सहित मुम्बईले ८ अंक जोडेको । निकै नै लयमा रहेको मुुम्बई आजको खेल जिती अंकतालिकाको शीर्ष स्थानमा फर्कने दाउमा रहँदा दिल्लीले भने खेल जित्दै मुम्बईसँगको अंकको दूरीलाई बढाउने सोचमा हुनेछ । दिल्लीका पृथ्वी शाह, शिखर धवन, ऋषभ पन्त तथा कप्तान श्रेयस अय्यर जस्ता शीर्षक्रमका ब्याट्सम्यान फर्ममा रहेकाले दिल्लीलाई यस पटकको च्याम्पियनका रूपमा समेत हेरिएको छ । ऊसँग आरिच नोकिया तथा कागिसो रबाडा जस्ता आक्रमक तीव्र गतिका बलरका साथसाथै स्पीनर रविचन्द्रन अश्विन हुनु मुम्बईका लागि प्रमुख चुनौती रहनेछ । यस्तै प्रतियोगितामा दिल्लीका अलराउण्डर मार्कस स्टोइनिसको प्रदर्शन पनि एकदमै लोभलाग्दो रहेको छ ।
यता मुम्बईसँग पनि जस्प्रित बुम्राहा, टे«न्ट बोल्ट तथा जेम्स प्याटिन्सन जस्ता घातक बलर रहेका छन् । मुम्बईको ब्याटिङ लाइनअप गहिरो हुनुले पनि उसलाई रन बनाउनमा थप मद्दत मिल्नेछ । तर शीर्षक्रमका ब्याट्सम्यानले गरेको प्रदर्शनलाई मध्यक्रमका ब्याट्सम्यानले बढावा दिन नसक्नु उसका लागि चिन्ताको विषय हुनसक्छ । यी दुई टोलीबीच हालसम्म २४ पटक भेट भएका छन् । जसमा दिल्ली र मुम्बइले समान १२–१२ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा भने दिल्लीले ३–२ को अग्रता लिएको छ । आजको खेलमा पनि दिल्ली सोही लयलाई कायम गर्ने अपेक्षा राखी मैदान उत्रने छ ।





