सुर्खेत, २५ असोज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले आइतबार संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलाई हस्ताक्षर बुझाएका हुन् ।
प्रमुख सचेतक शाहका अनुसार शाही नेतृत्वको सत्ताले केही पनि काम गर्न नसकेको भन्दै उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । उनी आफैँले समेत शाहीविरुद्ध हस्ताक्षर गरेका छन् ।
‘शाहीको कामकारबाहीमा चित्त नबुझेका कारण अविश्वास प्रस्ताव दर्ता गराएका हौँ,’ शाहले भने ।
प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गराउनेमध्ये छिन् ।
नेकपाका ३३ जना सदस्यमध्ये १८ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
संविधानअनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रुपमा अविश्वास प्रस्ताव दर्ता गराउन सक्ने व्यवस्था छ । कर्णाली प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ र राप्रपाका १ गरि ४० सदस्य छन् ।





