रत्ननगर, २३ असोज
दानामा भएको चर्को मूल्य वृद्धिका कारण यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् ।
दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ ।
संघका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ ।
यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको संघले जनाएको छ ।
देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ। ‘बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करिब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका छन्,’ संघका उपाध्यक्ष किरणभूषण ओलीले भने, ‘बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन् ।’
दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएका छन् ।
नेपालमा एकै व्यक्तिले तीन लाखसम्म कुखुरा पाल्ने गरेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसक्दा अधिकांश साना किसान यो व्यवसायबाट विस्थापित हुँदै गइरहेका छन् । ‘विगत एक वर्षदेखि किसानले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकेको छैन्,’ उनले भने, ‘दानाको चर्को मूल्य र कोभिड–१९ का कारण साना व्यवसायीहरु विस्थापित भएका छन् ।’
सरकारले राहत उपलब्ध नगराए पोल्ट्री व्यवसाय नै संकटमा पर्न सक्ने अवस्थामा आइपुगेको व्यवसायीहरुको भनाइ छ । संघका अनुसार सन् २०१६/१७ मा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुन्थ्यो । सन् २०१७/१८ मा प्रतिदिन ५० लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले त्यसमा भारी गिरावट आएको छ ।
संघका उपाध्यक्ष ओलीका अनुसार दाना किन्ने किसान अहिले पनि मारमा छन् । आफैं दाना उत्पादन गर्नेले मात्र यो व्यवसाय धानिएका छन् । दाना बनाउन मकै, भटमास आवश्यक पर्छ । मकै र भटमासको मूल्यमा हुने वृद्धिले दानाको मूल्यमा असर पार्छ । विगत २८ वर्षदेखि कुखुरा पाल्दै आएका पूर्वी चितवनका व्यवसायी दीपक खनालले अण्डाको व्यापारमा विचौलिया हावी हुँदा किसानको जीवनस्तर माथि उठ्न नसकेको बताए । अण्डा उत्पादनमै आफ्नो जीवन लगाएका उनले भने, ‘विचौलियाका कारण अण्डा व्यापारलाई अहिलेसम्म व्यवस्थित गर्न सकिएन ।’
त्यस्तै विगत तीन दशकदेखि कुखुरा पाल्दै आएका रामलाल भुषालले पनि अण्डाको बहुउपयोगी गुणबारे अझै पनि सबैलाई बुझाउन नसकिएको बताए । उनले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने, कुनै पनि प्रकारको मिसावट गर्न नसकिने तथा प्रोटिन र खनिज तत्वले भरिपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा रहेको छ तर यसबारे आम उपभोक्तालाई बुझाउन नसकिएको बताए ।
नेपालमा विषेशगरी चितवन, रुपन्देही, पोखरा, काठमाडौँमा पोल्ट्री व्यवसायीहरु छन् । पोल्ट्री व्यवसायमा चार लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।





