भरतपुर, २३ असोज ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अध्यावधिक विवरण प्रस्तुत गरेका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ६७६ पुगेको छ । सोसँगै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएका देशको सूचीमा नेपाल ४३औँ स्थानमा पुगेको छ । सर्वाधिक संक्रमितको संख्याको मामलामा नेपालले चीन, जापान, स्वीजरल्याण्ड, लगायतका देशलाई पनि उछिनेको हो । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७०९ संक्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना संक्रमित थपिएको जनाएको छ । यस्तै अन्य जिल्लाहरूमा मोरङमा ८६, चितवनमा ५१, सुनसरीमा २६, सुर्खेतमा ३ र रुपन्देहीमा ३ जना संक्रमित थपिएका छन् । माथि उल्लेख गरिएका जिल्लाहरूमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा धादिङमा ७, नवलपुरमा २५, मकवानपुरमा ६९ र बाँकेमा पनि ४५ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मनाङ र मुस्ताङ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट हालसम्म कूल ११ लाख ४५ हजार २३७ वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा देशभर १३ हजार २७९ वटा परीक्षण भएका छन् ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि २७ हजार ५३ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये ११ हजार १७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी १५ हजार ८७७ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ६३४ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १० हजार ५१२ जना होम आइशोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ४०८ रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भई घर फर्किनेको संख्या भने १ हजार ६८० रहेको छ । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यो कूल संक्रमितको करिब ७२.५ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म २६ हजार ४८७ जना संक्रमणमुक्त भइसकेका छन् ।
कोरोना संक्रमणका ज्यान गुमाउनेको संख्या ६०० पुग्यो
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मन्त्रालयले जनाएअनुसार मृतकमध्ये १ जना महिला हुन् भने ९ जना पुरुष हुन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ६०० पुगेको छ । नेपालमा पाँच सयौँ संक्रमितदेखि छ सयौँ संक्रमित पुग्न जम्मा ८ दिन लागेको हो । गत असोज १५ गतेसम्म नेपालमा ५०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । यस्तै मृतकको संख्या दोब्बर हुने समय भने ३२ दिन रहेको छ । पछिल्लो एक दिनमा वाग्मती प्रदेशमा मात्रै ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
गम्भीर प्रकृतिका बिरामीको संख्या बढ्दो, आइसीयू र भेण्टिलेटर खचाखच
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ७५ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने ३१८ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५७ जनाको भेण्टिलेटरमा तथा १९६ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार मात्रै मन्त्रालयले आइसीयू र भेण्टिलेटरमा २७७ जनाको उपचार भइरहेको जनाएको थियो । २४ घण्टामै सो संख्या करिब ४१.९ प्रतिशतले बढेर ३९३ पुगेको हो ।





