भरतपुर, १२ असोज ।
इण्डियन प्रिमियर लिग आइपिएल टिट्वान्टी प्रतियोगिताको बिहीबार राति खेलिएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । सीजनको तेश्रो जीत निकाल्ने क्रममा उसले किंग्स इलवेन पञ्जाबलाई ६९ रले हराएको हो ।
हैदराबादले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जाब १६.५ ओभरमा जम्मा १३२ रनमा अलआउट हुन पुग्यो । उसका लागि निकोलस पुरानले ७७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहन सकेन । ३७ बलको सामना गरेका पुरानले ५ चौका र ७ छक्का गरेका थिए । पञ्जाबका ७ ब्याट्सम्यान दोहोरो अंकको स्कोर नछोई आउट भए । पञ्जाबलाई कम योगफलमा समेट्ने क्रममा हैदराबादका रसिद खानले सर्वाधिक ३ विकेट हात पारे । खेलमा खलिल अहमद तथा थंगरासु नटराजनले समान दुईदुई विकेट चट्काउँदा अभिषेक शर्माले पनि आफ्नो खातामा एक विकेट लेखाए ।
यसअघि हैदराबादले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । उसका ओपनरद्वय जोनी बेयरस्टो र डेविड वार्नरको उत्कृष्ट पारीको मद्दतमा हैदराबादले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै बोर्डमा २०१ रनको योगफल टाँगेको हो । हैदराबादका लागि बेयरस्टोले ९७ रन बनाउँदा कप्तान वार्नरले ५२ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि १६० रनको साझेदारी गरेका थिए । बेयरस्टो म्यान अफ दि म्याच समेत घोषित भए । १६० को स्कोरमै दुई जना ओपनर आउट भएपछि केही समय हैदराबादले नियमित विकेट गुमाएको थियो । १६०–० को अवस्थामा रहेको हैदराबादले थप १५ रन जोड्दा ५ विकेट गुमाउन पुग्यो । यद्यपि केन विलियमसन र अभिषेक शर्माले क्रमशः २० र १२ रन बनाएर टोलीको योगफललाई २०० को आँकडा कटाउन सहयोग गरे । बलिङतर्फ भने पञ्जाबका रवि विस्नोईले ३, अर्सदीप सिंहले २ तथा मोहम्मद समीले १ विकेट हात पारे ।
जीतसँगै हैदराबादले दुई अंक हात पारेको छ । पाँच खेलमा तीन जीत र दुई हार बेहोरेको हैदराबाद ६ अंकसहित अंकतालिकामा तेश्रो स्थानमा उक्लिन सफल भएको छ । उता पञ्जाबको भने जारी प्रतियोगितामा यो पाँचौँ हार हो । छ खेलमा जम्मा एउटा जीत हात पारेको पञ्जाब दुई अंकमा तालिकाको अन्तिम स्थानमा रहेको छ ।





