हेटौंडा, २१ असोज ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस संक्रमितको उपचारका लागि आइसीयु वेडको संख्या बढाइने बताएका छन् । बुधबार सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री पौडेलले पछिल्ला समय गम्भीर प्रकृतिका बिरामीहरूको संख्या बढ्न थालेको भन्दै आइसीयु वेडको संख्या बढाउनु पर्ने बताएका हुन् ।
प्रदेश सरकारले आईसोलेसन केन्द्रहरू सञ्चालन गरिरहेको जानकारी दिँँदै पौडेलले महामारी नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए । हाल अन्य जिल्लामा संक्रमण फैलने दर कम रहेको भएपनि काठमाडौँमा त्यसको जोखिम झन् बढेको उनको भनाइ थियो । तसर्थ काठमाडौँमा जनस्वास्थ्यका दृष्टिले ठूलै सङ्कट उत्पन्न हुनसक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलले जोड दिए ।
हाल काठमाडौँ, ललितपुर, चितवन, दोलखा, काभ्रे लगायतका जिल्लामा प्रदेश मातहतका अस्पताल छैनन् । ती जिल्लामा आफ्ना मातहतका अस्पताल सञ्चालन गर्न सोही जिल्लामा रहेका एउटा एउटा स्वास्थ्य केन्द्रहरूलाई स्तरोन्नति गर्न लागिएको पनि छलफलका क्रममा सदस्यहरूले उल्लेख गरेका थिए । ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्न नेपाल सरकारलाई पत्राचार गरिएको पनि प्रदेश सरकारले जनाएको छ । काठमाडौँका कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानीय तहमा १००-१०० बेडको आइसोलेसन केन्द्र निर्माण भइसकेको छ ।
हाल प्रदेशका अस्पतालहरूमा आवश्यकता अनुसार आइसीयु र भेन्टिलेटरसहितको सुविधा पनि उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशले कोरोना परीक्षणका लागि २ स्थानमा प्रयोगशाला सञ्चालन गरिरहेको भने थप ४ ठाउँमा बन्ने क्रममा रहेका छन् । सिन्धुली, भक्तपुर, नुवाकोट र मकवानपुरमा एउटा-एउटा प्रयोगशाला थप गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । हाल वाग्मती प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि ३ हजार २ सय ६० आइसोलेशन वेड, ६ सय ३० आइसीयु वेड तथा १ सय ९५ वटा भेन्टिलेटरको व्यवस्था गरिएको छ ।
यसैगरी कोरोना सङ्क्रमणकै कारण शिक्षा क्षेत्र पनि समस्याग्रस्त बनेकोप्रति मुख्यमन्त्री पौडेलले चिन्ता प्रकट गरेका थिए । छलफलका क्रममा समितिका सदस्य जीवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताए ।





