शिव गौतम ।
भरतपुर, ४ भदौ ।
भाद्र महिनाको शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीजलाई सम्पूर्ण हिन्दू महिलाहरूको प्रमुख व्रतका रूपमा लिइन्छ । परापूर्वकालमा भगवान् शिव पति पाऊँ भनी पार्वतीले तीजको व्रत बसेकी र सोही व्रतका प्रभावले महादेवलाई पतिका रूपमा पाएकी भन्ने पौराणिक कथाका आधारमा अहिले पनि महिलाहरूले व्रत बस्दै आएका छन् । भगवान् शिवका शक्तिपीठमा पूजाआजा गरी साथीसँगी भेला भएर दिनभर नाचगान गर्ने प्रचलन नेपाली समाजमा रहेको छ । तीजका दिन निराहार व्रत बस्न तागत मिलोस् भनेर महिलाहरूले अघिल्लो दिन दर खाने चलन पनि रहेको छ । विगतका वर्षहरूमा महिलाहरूले हप्तौं अगाडिबाट नै दर खाने कार्यक्रम आयोजना गर्ने गरेकामा यस पटक भने कोरोना महामारीका कारण सृजित परिस्थितिले गर्दा त्यस्ता कार्यक्रम आयोजना हुन पाएनन् । शहर बजारमा निशेधाज्ञा तथा लकडाउन कारण चेलीबेटी यस पटक माइत पनि पुग्न पाएका छैनन् । घरमा वा माइतमा जहाँ भएपनि तीजको अघिल्लो दिन जथाभावी रूपमा खानेकुरा खाँदा स्वास्थ्यमा देखिन सक्ने जटिलताका बारेमा पनि महिलाहरूले विशेष ध्यान दिन जरुरी देखिन्छ ।

दर खाने दिन महिलाहरूले बिहानदेखि अबेर रातसम्म विभिन्न प्रकारका खानेकुरा खाँदा सचेतता अपनाउनुपर्ने खाद्यविद् श्रद्धा खनाल बताउँछिन् । चिल्लो खानेकुरा पच्न धेरै समय लाग्ने भएकाले अघिल्लो दिन खाएको खानाले भोलिपल्टसम्म पनि शक्ति मिल्ने उनले बताइन् । तर खानामा डाल्डाको प्रयोग नगर्न उनी सुझाव दिन्छिन् । “खानामा भएको घ्यूको सामान्य मात्राले स्वास्थ्यमा खासै फरक पार्दैन । तर डाल्डा हालेको खानेकुरा भने नखाएकै राम्रो हुन्छ । डाल्डाको साटो बरु तोरी वा सूर्यमुखी तेलको प्रयोग गर्न सकिन्छ”, उनले भनिन् । महिलाहरूले खाने दरमा सकेसम्म सबै प्रकारका खाना बराबर मात्रमा हुनुपर्नेमा खाद्यविद् खनाल जोड दिन्छन् । “दर खाने भनेर मासु मात्रै वा खिरैखिर मात्रै खानुहुँदैन । तपाइँले खाने खानामा फलफूल तथा तरकारीको पनि मात्रा हुनुपर्छ । यी सबै खानेकुरा बराबर गरी खाने हो भने शरीरलाई हानि पनि हुँदैन”, उनले थपिन् । खानामा रेसादार फलफुल वा तरकारी हुनु स्वास्थ्यका दृष्टिकोणले पनि अपरिहार्य रहेको उनले बताइन् ।
मासुजन्य खानेकुरा खाँदा भने उसिनेर साँधेको मासु मात्रै खानुपर्ने तर्क उनले राखिन् । भुटेको मासुमा चिल्लोपनको मात्रा बढी हुने भएकाले त्यसले अपच, फुड पोइजनिङ वा पखाला गराउन सक्नेतर्फ पनि उनले सचेत गराइन् । “दर खाँदा सकेसम्म घरमा आफैँले तयार गरेको खानेकुरा मात्रै खानुपर्छ । आफूले बनाएको जस्तो स्वच्छ बाहिरबाट ल्याएको खाना नहुन पनि सक्छ”, उनले बताइन् । कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नका लागि लागू गरिएको निषेधाज्ञाका कारण होटलबाट खाना मगाउनु पनि सहज छैन । कोरोनाबाट जोगिन आवश्यक पर्ने मापदण्ड नअपनाई ढुवानी गरिने खानाले झन् अर्काे समस्या उत्पन्न गराउन सक्छन् ।




