थुम्सीमा खुल्यो पुस्तकालय

गैंडाकोट, ३२ जेठ

गैंडाकोट नगरपालिकाको थुम्सीमा पुस्तकालय स्थापना भएको छ । स्थानीय नवजागरण ग्रामीण विकास केन्द्रले सामाजिक गतिविधिसँगसँगै शिक्षा सुधार अन्तर्गतका क्षेत्रमा पनि काम गर्ने योजना अनुरुप पुस्तकालय स्थापना गरेको हो । थुम्सीमा पहिलोपटक पुस्तकालय स्थापना हुँदा स्थानीय खुसी भएका छन् ।

कोभिड १९ को महामारी बिचमा पनि सामाजिक दूरी कायम राखी आइतबार आयोजित कार्यक्रममा बरिस्ठ कवि गोविन्दराज बिनोदीले नवजागरण पुस्तकालयको उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् कवि बिनोदीले पुस्तकालय ज्ञानको भण्डार भएको बताउँदै सबैले पुस्तकालयमा आएर आफ्ना रुचि अनुसारका किताब पढेमा आफूमा ज्ञानको संचय हुने बताए । हिजोआज विद्युतीय माध्यमले पुस्तकालयलाई ओझेलमा पारे पनि पुस्तकालयमा बसेर किताबका पाना पल्टाएर पढ्दाको आनन्द बिद्युतीय पुस्तकालयमा पाइँदैन, कवि बिनोदीले भने- पुस्तकालयमा विभिन्न बिधाका पुस्तकहरू पाइने हुनाले रोजेर, छानेर पढ्न पाइन्छन् ।

पुस्तकालयमा बसेर किताब पढ्दा मनलाई पनि स्थिर राख्न सकिने स्थानीय भूमिश्वर सापकोटाले बताए । नियमित किताब पढ्ने मानिस तार्किक र व्यवहारिक हुने उनको ठम्याई छ । गैंडाकोट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले आफ्नो वडामा पुस्तकालय स्थापना गर्न सफल भएकोमा युवाहरूलाई धन्यवाद दिए । उनले पुस्तकालयको विकास र संरक्षणमा आफ्नो तर्फबाट सक्दो सहयोगको पहल गरिने आश्वासन दिए । नजिकै बाल उद्यान बनाएर बालबालिकालाई खेल्दै पढ्दै गर्ने किसिमको वातावरण सिर्जना गर्न वडाध्यक्ष सापकोटाले सुझाव पनि दिए ।

केन्द्रका संस्थापक अध्यक्ष तथा उपप्राध्यापक पीताम्बर सापकोटाले थुम्सीमा पुस्तकालय स्थापना हुनुले थुम्सीको गरिमा झन् बढेको दाबी गरे । पुस्तकालय विद्याको मन्दिर हो, उनले भने- यो मन्दिरमा प्रवेश गर्ने सबै ज्ञानले सिंचित भै पवित्र हुनेछन् । पुस्तकालयलाई जोगाइराख्न सबैको पहल उत्तिकै आवश्यक रहेको पनि उनले बताए ।

नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष नारायण सापकोटाले पुस्तकालयमा अहिले तीन सयभन्दा बढी शीर्षकका किताबहरू उपलब्ध रहेको बताउँदै आगामी दिनमा पठनीय किताबको संख्या बढाउँदै लगिने जानकारी दिए । पुस्तकालयमा अएर नि:शुल्क रूपमा किताब पढ्न पाइने व्यवस्था भएकोले अनुकूल मिल्ने सबैलाई यहाँ आएर पढ्न उनले आग्रह गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट