
– गणेश चिन्तन
श्रीमान् !
प्रेमको सुन्दर वगानमा
स्पर्शको लतामा
हात समाएर
चाँदवारी खेलेका हौं
केही उनको
केही मेरो
जिन्दगी जीउने
चाहना संहित
मन मिलेसि
तन मिलेसि
कहिलेकाहीँ
प्रेमको रसपान गरेका हौं
बस् !
यो भन्दा बढ्ता
हामीले / मैले
अरू केही गरिनौं
श्रीमान्!
म सोझो परेसि
प्रेमको यस दौडानमा
कसले के साजिस गरे
मलाई थाहै भएन
हामी दुवैसँग
जिन्दगी जिउने
साझा सपना थियो
न जात
न विभेद
प्रेमको सुखद क्षणमा
हामीमा अप्ठ्यारो
केही अनुभूति भएन
बरू अटुट हुँदै गयो
प्रगाढ बन्दै गयो
श्रीमान् !
समय घर्किंदै गर्दा
अफसोच !
को कसले
के साजिस गरे ?
मैले त एक्कासि
सोतीमा थाहा पाएँ
श्रीमान् !
म त अछूूत हुँ रे
म त कामी हुँ रे
त्यसपछि,
म सोतीमा मारिएछु
मारेर भेरिमा फालिएछु
म मारिएँ
म फालिएँ
श्रीमान् !
मेरो मृत्युपश्चात
चैतन्यहीन
केही हुल कायरहरू
केही हुल भँडुवाहरू
केही हुल मध्यपायीहरू
संजोगको आख्यान बनाएर
दुनियाँलाई भाउँतो हालिरहेका छन्
हो, श्रीमान् ! म अछूत
उनी अर्थात
सुस्मिता ठकुरानी
म अपवित्
यही कारण
विभेदको तरवारले काटेर
म मारिएको हुँ
श्रीमान् !
मुसीकोट खलंगा, रूकुम पश्चिम
(कवि चिन्तन नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष हुन् ।)





