
भरतपुर, ३१ जेठ
नेपालमा हालसम्म ५ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । भाइरसका कारण १६ जनाले ज्यान गुमाइसकेका छन् भने ८७७ जना निको भइ घर फर्किसकेका छन् । यद्यपि विज्ञहरूले संक्रमणको फैलावट चरम चरणमा नपुगेको दाबी गर्दै आएका छन् । भाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले गरेको ८२औं दिनको लकडाउन पनि आज जारी नै छ । ८० दिनसम्मको लकडाउनमा आइपुग्दा पनि सरकारले भाइरसको संक्रमणलाई नियन्त्रण गर्न खासै कसरत नगरेको पनि छर्लङ्गै देखिएको छ ।

ठट्टा र भ्रष्टाचार गर्नमा अब्बल रहेको सरकार जनताका कुरा सुन्न र जनजीविकासम्बन्धी समस्यालाई सुल्झाउन भने चुकेको आभाष हुने गरेको छ । यता लकडाउनका कारण प्रभावित बनेको जनजीवनलाई बिस्तारै पहिलेकै अवस्थामा पु¥याउन सरकारले लकडाउनलाई खुकुलो पार्दै लैजाने निर्णय पनि गरेको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले हाललाई स्वास्थ्यसेवासँग सम्बन्धित क्षेत्र, उद्योग, व्यापार, व्यवसाय, पैदल आवागमन, वित्तीय सेवा, लगायतका क्षेत्रलाई खुला राख्न पाउने निर्णय गरेको छ । अधिकांश क्षेत्रले लकडाउनका कारण मारमा परेको भनेर केही दिन अगाडीदेखि नै लकडाउनको सामूहिक अवज्ञा समेत गर्दै आएका थिए । आज यस स्तम्भमा हामी भरतपुर महानगरपालिका वडा नं ४ को प्रमुख बजार बन्दै गएको धर्मचोकलाई लकडाउनले पारेको प्रभावका बारेमा थोरै चर्चा गर्नेछौं ।

भरतपुर महानगरपालिका वडा नं ४ लंकूस्थित धर्मचोक पनि २०७६ चैत ११ गतेयता सुनसान अवस्थामा पुगेको छ । धर्मचोकको नाममात्रै धार्मिक नभएर कामले पनि यो चोक धार्मिक नै रहँदै आएको थियो । लकडाउन अघि लंकू नजिकै बस्नेहरू बिहानी समयमा हिँड्दै यही चोकसम्म आउँथे, चोकमा अवस्थित वर र पीपललाई दुई हातले नमस्कार गरी परिक्रमा गरेपछि पुनः घरतर्फ लाग्थे । धर्मचोक क्षेत्रका घर र मन्दिरहरूमा घण्टी, आरति तथा कीर्तन बजिरहेका हुन्थे । घरघरमा बालिएका अगरबत्तीको सुगन्ध बाहिर सडकसम्म नै पुग्ने गर्दथ्यो । अझै कतिको घरमा बालिएको घ्यू मिश्रित दियोको बासनाले बिहानीलाई थप मनमोहक बनाउँथ्यो । मर्निङ्ग वाकका लागि हिँडेकाको फोक्सोमा त्यही सुगन्धको सञ्चार हुने गर्दथ्यो । लकडाउन सुरु भएपछि मर्निङ्ग वाक गर्न नपाएकाहरूले त्यो सुगन्धित हावा पिउन र घण्टीको आवज सुन्नबाट वञ्चित भएका छन् ।

यहाँका हरेक बासिन्दा आफ्नो धर्म अर्थात् कर्तव्यप्रति निष्ठावान् छन् । व्यापारीले व्यापारलाई धर्म मानेका छन् । अध्यापकले अध्यापनलाई आफ्नो धर्म मानेका छन् । यसरी नै धार्मिक तथा साहित्यिक चर्चा गर्नुलाई आफ्नो धर्म ठान्नेको जमात पनि लंकूमा प्रशस्तै छ । तर लकडाउन सुरु भएपछि मानिसको मनस्थितिमा खैलाबैला छाएको जसकारण उनीहरूले आफ्नो कर्तव्यलाई निरन्तरता दिन पाइरहेका छैनन् । मानिस र सवारीसाधनको ओइरो लागिरहने लंकू अहिले सुनसान बनेको छ । यस्तो लाग्छ कि मानौं लकडाउनले उसको मनोरमत्वलाई निमोठेर लगेको छ । मान्छेको चहलपहल नहुँदा प्रायः पसल पनि बन्द छन् । शारीरिक दूरी कायम गरी फाट्टफुट्ट खाद्यान्न तथा निमार्णसँग सम्बन्धित पसल मात्रै खुलेका छन् । लकडाउनबाट भरोसा हटाएका कतिपयले सर्टरलाई आधा उघारेर आफ्नो व्यवसाय अघि बढाउन थालेका छन् । सधैंजसो एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्नेहरू अचेल कताकता मानिसहरूसँगै डराउन थालेका हुन् कि भन्ने लाग्न थालेको छ ।

तैपनि लंकूले आशाको त्यान्द्रोलाई समातेर जीउन भने छाडेको छैन । यद्यपि कलकल निरन्तर बगिरहेको नारायणीको जल, खेतबारीमा लहलह झुलेको खेती र उद्यानमा चरीहरूको चिरबिर स्वरले महामारीको समयमा पनि मानिसलाई मल्हम लगाउने काम गरेका छन् । यहाँका धार्मिक व्यक्तिहरू अझै पनि मन्दिर, घरछेउका मण्डप र वरण्डामा बसेर दैनिक शास्त्रार्थ र भगवान् चर्चा गरिरहेका भेटिन्छन् । रातपछि फेरि दिन अवश्य आउनेमा उनीहरू विश्वस्त देखिन्छन् । मानिसको आवागमन नहुँदा निरस बनेका लंकू जस्तै अरु ठाउँहरू लकडाउन अन्त्य भएपछि फेरि पुरानै अवस्थामा फर्कन सक्लान् त ? एउटा सोचनीय प्रश्न सबैका मनमा उब्जिन थालेको छ ।





