भरतपुर, २८ जेठ
प्रधानमन्त्री केपी शर्मा ओली प्रमाणित नभएका कुराहरुमा पनि हमेसा बोलिरहन्छन् । संसद्मा उपस्थित भएका बेलामा धेरैपटक प्राविधिकरुपमा प्रमाणित हुनुपर्ने तथ्य राख्छन् ।
आज पनि प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिन उनी उपस्थित भए । उनले त्यहाँ नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु भएका १५ जनाको मृत्युको खास कारण अरु नै भएको र अन्तिममा कोरोना पनि देखिएको बताए । “कतिपय बाँच्ने स्थिति नरहेको व्यक्तिमा कोरोना सरेको देखियो”, उनले भने, “मृत्यु भएपछि जाँच्दा कोरोना पन देखिएको हो, १५ जनाकै मृत्यु कोरोनाका कारणले मात्रै भएको होइन ।”
हालसम्म चितवनमा एकसहित मुलुकभर १५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ११ जनामा कोरोना रहेको पुष्टि उनीहरुको मृत्युपछि भएका छन् । उनले हालसम्म नेपालमा मर्नेको संख्या कयौं देशमा भन्दा कम रहेकोमा सन्तोष व्यक्त गरे । कोरोना जितेर घर फर्कनेको संख्या पनि राम्रो रहेको उनले बताए । “उपचार भएर फर्कनेको संख्या धेरै राम्रो छ”, उनले भने, “ज्यान गुमाउने पनि कयौं देशभन्दा हाम्रोमा थोरै छ ।”
नेपालीहरुमा रोग प्रतिरोधी क्षमता पनि बलियो रहेको उनले बताए । स्वदेशमा उपचारको प्रबन्ध राम्रो भएकोले पनि यसो भएको उनले दाबी गरे ।
हालसम्म विदेशमा १४ हजार ४५४ जना नेपालीमा कोरोना संक्रमण देखिएको र १३ वटा मुलुकमा १२७ नेपालीको मृत्यु भएको उनले बताए ।





