भरतपुर, २८ जेठ
चितवनमा आज कोरोना संक्रमण पुष्टि भएका दुवै जना व्यक्ति भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
भरतपुरस्थित कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनको कालिका–६, जुटपानीका २० वर्षीय पुरुष र भरतपुर–५ का २८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैलाई भारतबाट उद्दार गरी ल्याइएको थियो । दुवैका परिवार यहाँ डेरा गरी बस्छन् भने उनीहरु रोजगारी सिलसिलामा भारत बस्छन् ।
कालिका–६ का पुरुषको स्थायी घर धादिङ हो । उनका परिवार त्यहाँ डेरा गरी बस्छन् ।
त्यस्तै भरतपुर–५ का वडाध्यक्ष पदमपाणि सुवेदीका अनुसार संक्रमित २८ वर्षीय पुरुष भारतबाट आएका थिए । भारतबाट ल्याएर उनलाई वडाको क्वारेन्टिनमा राखिएको थियो ।
संक्रमित पुरुषको परिवार भरतपुर–५ मा डेरा गरी बस्ने गरेको खुलेको छ । आज पुष्टि भएका दुवैजनालाई भरतपुर ल्याउने तयारी गरिँदैछ ।
साथै नवलपुरको गैंडाकोट १३ र १४ का २३ र २६ वर्षीय पुरुषहरुमा पनि कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
१३७ वटा नमूना परीक्षण गरिएकोमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ । जेठ २५ र २६ गते ल्याबमा लगिएका नमूना परीक्षणको रिपोर्ट आज आएको हो ।





