माडीको क्वारेन्टिनबाट ६४ नमूना संकलन, अझै ३ क्वारेन्टिन बाँकी

भरतपुर, २७ जेठ
हिजो ६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएपछि माडी नगरपालिकाभित्रका विभिन्न क्वारेन्टिनमा रहेकाहरुको परीक्षण नमूना (स्वाब) संकलन तीव्र पारिएको छ । विभिन्न ६ क्वारेन्टिनमध्ये दुई क्वारेन्टिन बसेका सबैको रिपोर्ट आइसकेका छन् भने ४ वटाको परीक्षण बाँकी छ ।

आज माडीको ५ नम्बर वडाले व्यवस्थापन गरेको दिवाकर स्मृति विद्यालय क्वारेन्टिनमा स्वाब संकलन गरिएको छ । केहीबेरअघि मात्रै त्यहाँ क्वारेन्टिन बसेका ४७ र सहयोगी तथा भान्से, सुरक्षाकर्मी सबै गरेर ६४ जनाको स्वाब संकलन गरिएको वडा नम्बर ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले जानकारी दिए ।

“सुनौली नाकामा उद्दारका लागि गएकाहरुको पनि स्वाब लिइएको छ”, उनले भने, “भरखरै संकलनको काम सकियो ।” माडीमा अझै ३ क्वारेन्टिनमा स्वाब संकलन गर्न बाँकी छ । त्यसमध्ये माडी माध्यमिक विद्यालय क्वारेन्टिनमा सबैभन्दा धेरै ५३ जना आश्रित छन् । त्यसबाहेक जनकल्याण माध्यमिक विद्यालयमा ७ जना र माडी क्याम्पसमा २ जना रहेको माडी नगरपालिका विपद् व्यवस्थापन स्रोतव्यक्ति बालगोविन्द न्यौपानेले जानकारी दिए ।

बाँकी क्वारेन्टिनमा क्रमशः स्वाब संकलन गर्ने बताइएको छ । गोविन्दबस्तीमा रहेको क्वारेन्टिनका २४ जनाको स्वाब परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको कारण सबैलाई घर पठाइएको छ । तर, सोमेश्वर मावि क्वारेन्टिनमा रहेका ६४ जनामा भने ६ जनाको पोजिटिभ आएका कारण बाँकी सबैले केही दिन अझै क्वारेन्टिनमै बिताउनुपर्ने भएको छ ।

सोमेश्वरमा अब ६४ जना बाँकी छन् । स्वाब परीक्षणबाट हिजो ६ जनाको रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई कोरोना विशेष अस्पताल भरतपुर ल्याइएको छ ।

वडाध्यक्ष पोखरेलले आज स्वाब लिइएकाहरुलाई दुई पटक गरी सुनौली नाका हुँदै भारतबाट ल्याइएको जानकारी दिए । उनीहरुमध्ये २९ जनालाई १३ जेठमा र २० जनालाई १५ जेठमा ल्याइएको थियो । स्वास्थ्य समस्याका कारण २ जनालाई भने भरतपुर पठाइएको थियो । त्यसमध्ये एकजनाको केही दिनअघि मृत्यु भइसकेको छ ।

उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । “भारतबाट ल्याउँदादेखि नै धेरै सावधानी अपनाएका छौं”, वडाध्यक्ष पोखरेलले भने, “कम्तीमा संक्रमण समुदायमा जान पाएको छैन, त्यसैले त्रसित नहुन अनुरोध गर्छु ।”

क्वारेन्टिनमा बसेकाहरुको कुनै पनि हिसाबले समुदायमा सम्पर्क नरहेकोले नडराउन सबैलाई अपिल गरेका छन् । त्यहाँ २७ देखि ६५ वर्षसम्मका पुरुष छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट