भरतपुर, २७ जेठ
चितवनमा हिजो कोरोना संक्रमण पुष्टि भएका एकजना स्वास्थ्यकर्मी सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय पुगेको खुलेको छ । काठमाडौं जानकालागि सवारी पास बनाउन उनी प्रशासन पुगेको पुष्टी भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा सतर्कता अपनाउन थालेको छ ।

”हामी पनि शंकाको घेरामा परियो”, एक कर्मचारीले भने, “संक्रमितले को-को सँग सम्पर्क गरे भन्ने यकिन भएको छैन ।” संक्रमित व्यक्ति आएको पुष्टि भएपछि प्रशासन कार्यालयले आजबाट अतिआवश्यक सेवा मात्र दिन थालेको छ । सर्वसाधारणको प्रवेशमा कडाई गरिएको छ । वैदेशिक प्रयोजनका कागजात बनाउने बाहेकका काम अहिले रोकिएको उनले बताए ।
संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी क्वारेन्टिनमा
एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उनीसँग सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।
सप्तरी घर भएका संक्रमित व्यक्ति स्वाबको नमूना दिएर घर हिँडेको खुलेको छ । अस्पतालका कार्यकारी निर्देशक डा.देज गौतमकाअनुसार अप्रेशन अघि सबै बिरामीको पीसीआर परीक्षण गर्ने गरिएको छ । ती बिरामीको पनि सोही अनुरुप परीक्षण गरिएको उनले बताए । तर केही दिनपछि मात्रै अपरेशन गर्ने भनिएपछि उनी घर हिँडेको जानकारी आएको उनले बताए ।
बिरामी सप्तरी हिँडेको थाहा पाएपछि सप्तरीस्थित सगरमाथा अञ्चल अस्पताललाई जानकारी गराएर बिकामीसँग सम्पर्क गराएको डा.गौतमले बताए । “अस्पतालमा उनीसँग सम्पर्क भएका स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीहरुको पहिचानगरी क्वारेन्टिनमा राखिएको छ”, उनले भने ।
भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले पनि स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिएको जनाएको छ । यहाँका एक चिकित्सक र एक जना बिरामीमा संक्रमण पुष्टि भएको थियो ।





