कोभिड महामारीले मानसिक समस्या बढाउँदै

शिव गौतम
भरतपुर, २६ जेठ
संसारभर नै महामारीको रूप लिइरहेको नोबल कोरोना भाइरसले यतिबेला नेपालमा पनि फैलने क्रममा रहेको छ । २०७६ माघ ११ गते नेपालमा पहिलो पटक भाइरसको संक्रमण पुष्टि भएको थियो । भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि भन्दै सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन पनि जारी ग¥यो । लकडाउन सुरु हुँदा देशभर केवल तीन जनामा भाइरसको संक्रमण देखिएको थियो भने एक जनालाई निको भइसकेको थियो । तर विभिन्न सीमाबाट भित्रिएका नेपालीको भीड व्यवस्थापन गर्न नसक्दा लकडाउनकै अवधिमा थुप्रै संक्रमित थपिएका छन् ।

सरकारले छ पटकसम्म लकडाउन थप्दै २०७७ जेठ ३२ सम्म पु¥याएपनि रोगीको उपचार तथा व्यवस्थापन गर्नतर्फ भने सरकार चुकेको देखिएको छ । यो खबर तयार पार्दासम्म मात्रै नेपालमा कूल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ भने १४ जनाले ज्यान गुमाइसकेका छन् । भाइरस परीक्षणलाई बढाएको बताएपनि भाइरसको जोखिम बढी भएको क्षेत्रमा मानिसहरूको परीक्षण हुन सकेको छैन । सरकारले लापरवाही पनि यतिसम्म गरेको छ कि संक्रमणका कारण ज्यान गुमाउनेमा क्वारेन्टिनमा बसेका मानिसहरू नै बढी रहेका छन् । एकातिर भाइरसबाट जोगिने चुनौति र अर्काेतिर लकडाउनले गर्दा रोजगारी गुमेको पीडाका कारण धेरैमा मानसिक विचलन समेत देखिन थालेको छ । लकडाउन सुरु भएदेखि मात्रै नेपालमा १ हजार बढीले आत्महत्याका कारण ज्यान गुमाएका छन् । कोरोना भाइरसको कहर सकिएपछि पनि मानिसहरूमा मानसिक समस्या उत्पन्न हुन सक्ने चेतावनी स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाहरूले दिन थालेका छन् ।

कसैमा तनाब अर्थात् डिप्रेसन भएको कसरी थाहा पाउने त ? चितवन मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुरका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्ले भन्छन्, “तनाबले चिन्ता वा डरसँग बढी सम्बन्ध राख्ने गर्छ । कसैमा तनाबको समस्या छ छैन भनेर बुझ्नलाई उसले देखाउने आनीबानीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।” उनी अगाडी भन्छन्, “तनाब हुँदा विशेषतः मान्छेमा स्थिरता हुँदैन । उसको मन चञ्चल भइरहन्छ । कोही मान्छे चाँडै रिसाउने वा झर्कने गर्न थालेको छ भने उसमा मानसिक समस्याको विकास हुँदैछ भन्ने बुझ्नुपर्छ ।”

त्यस्तै डिप्रेसनका रोगीमा निद्रा नलाग्ने, पटकपटक खराब सपना देखिने, खानामा अरुची हुने, आदि समस्या समेत देखिन सक्छन् । यस्तै, युनिभर्र्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भैरहवाका मानसिक रोग विशेषज्ञ डा. सन्दीप सुवेदी पनि तनाब र निद्राबीच सम्बन्ध रहेको बताउँछन् । तनाब भएका मानिस राम्रोसँग ननिदाउने भएकाले उसमा बारम्बार खराब सपना देख्ने वा झस्किने समस्या उत्पन्न हुन सक्ने उनले बताए ।

“महामारी वा अन्य कुनै प्रकोपका समयमा मानिस बढी डराउने गर्छ । अहिले कोरोना भाइरस संसारभर नै फैलिएको हुँदा सबैमा भाइरसलाई लिएर अन्यौल बढेको छ”, डा. सुवेदीले थपे, “रोग कहिले नियन्त्रणमा आउला कि नआउला ? आफूमा भाइरस सर्ला कि नसर्ला ? भन्ने खालका चिन्ता सबैको मनमा रोपिएका छन् ।” मृत्युको डरका बीच बाँच्नुपर्दा तनाब बढ्ने सम्भावना पनि अधिक रहने गर्दछ । यता लकडाउनले अर्थतन्त्रमा समेत प्रभाव पारेको हुँदा मानिसहरूको आयश्रोत पनि बन्द भएको छ । घरखर्च कसरी चलाउनेदेखि लिएर व्यापार घाटासम्बन्धी चिन्ता सबैले पालेर बसेका छन् । यस्तो बेलामा निद्रा नपर्ने वा खराब सपना आउन सक्ने भएकाले स्वस्थ जीवनशैलीमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिने गरेका छन् । “अहिलेको बेलामा शरीरलाई आराम दिन जरुरी छ । दैनिकजसो व्यायम गर्ने र सकेसम्म निद्रा पु¥याउने गरेमा तनाब हटाउन सकिन्छ”, डा. सुवेदीले भने । निद्रा नै नलाग्ने वा बेचैनी हुने क्रममा कमी नआएमा भने औषधि उपचारका लागि मनोचिकित्सकसँग सल्लाह लिन सकिने उनले सुझाव दिए । सरकारले परिस्थिति हेरेर लकडाउन खुकुलो पार्नसक्ने कुराको उल्लेख गर्दै उनले सबैलाई भाइरसबाट जोगिन न्यूनतम उपाय अपनाउन पनि आग्रह गरे ।

लकडाउनपछि निम्तिएको आर्थिक संकटले मानिसहरूको दैनिक जीवनयापनमा समस्या पुगेको छ । जनता शोक र भोकका कारण दुब्लाउँदै गएका छन् भन्ने कुरालाई मनन गर्दै तीनै तहका सरकारले खास गरी निम्न आयश्रोत भएका व्यक्तिका परिवारका लागि विशेष राहत ल्याउनुपर्ने देखिन्छ । होइन भने अभिभावक भनिएको सरकारबाट जनताको भरोसा टुट्न धेरै समय पक्कै लाग्ने छैन । यो कुरा पनि गाउँगाउँका सिंहदरबारले बुझ्न जरुरी छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट