माडीका ६ संक्रमित भरतपुर ल्याइए, आईसीयूका बिरामी पनि सारियो

भरतपुर, २६ जेठ
चितवनको भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा आज पोजिटिभ देखिएका माडीका ६ जना संक्रमितलाई भरतपुर ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेका कारण भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

सबै ६ जना नै हालै भारतबाट आएका थिए । आएदेखि उनीहरुलाई माडीका क्वारेन्टिनमा राखिएको थियो । आजै भरतपुरमा पोजिटिभ देखिएका अरु ११ जनालाई पनि ल्याउने प्रक्रियामा रहेको जानकारी डा. अधिकारीले दिए । “सबैलाई ल्याइँदैछ”, उनले कायाकैरनसँग भने, “अवस्था हेरेर जटिल समस्या भए भरतपुर अस्पताल लगिनेछ, सामान्य रहे कोरोना अस्पतालमै राखिनेछ ।”

यसअघि एनपीआई नारायणी सामुदायिक अस्पतालममा उपचाररत वृद्धलाई पनि भरतपुर अस्पतालको आइसोलेसन आईसीयूमा सारिएको छ । भरतपुर–३ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । आईसीयूमा नै उपचार भइरहेको थियो । उनलाई त्यहीँ राख्ने कि भरतपुर सार्ने भन्ने विषयमा दुविधा उत्पन्न भएको थियो । अवस्था जटिल रहेका कारण सार्न अप्ठ्यारो हुने ठानिए पनि जोखिम लिएरै सारिएको छ ।
दिउँसो भरतपुर अस्पतालले फेसबूक लाइभमार्फत गरेको पत्रकार सम्मेलनमा पनि अस्पतालका अध्यक्ष डा. अधिकारीले ती वृद्धलाई सकेसम्म एनपीआईमा नै उपचार गर्ने जनाएका थिए ।

यीबाहेक भरतपुर महानगरका क्वारेन्टिनमा रहेकालाई पनि अस्पताल ल्याइँदैछ । आज भरतपुर कोरोना परीक्षण प्रयोगशालामा पोजिटिभ देखिएकामध्ये २० जना चितवनका छन् । त्यसमा पनि १३ जना भरतपुर महानगरपालिकाभित्रकै छन् । त्यसमा १ जना नर्स हुन् । दुई जना चिकित्सकमध्ये एकजना पूर्वी चितवनका हुन् भने भरखरै मात्रै एमबीबीएस उत्तीर्ण गरेका एकजना काठमाडौंका हुन् । उनी उतै छन् ।
नारायणी सामुदायिक हस्पिटलका ती चिकित्सक निरन्तर बिरामी हेरिरहेका थिए ।

आज पोजिटिभ देखिएका अरु ५ जना नवलपरासीका हुन् । उनीहरुमध्ये २ जना गैंडाकोटका र ३ जना कावासोतीका हुन् । एकजना धादिङ, दुईजना कपिलवस्तु, एकजना सप्तरीका हुन् ।

कोरोना प्रयोगशालामा शुक्रबार र शनिबार संकलन गरिएका ३१० नमूनामध्येको रिपोर्टमा ३० जनाको पोजिटिभ आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।

पोजिटिभ देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट