लेखराम सापकोटा
भरतपुर, २६ जेठ
लामो लकडाउनले जीवन गुजार्न धौधौ हुन थालेपछि चितवनका बजारहरूमा मानिस निस्कन थालेका छन् । तर, अहिलेसम्म तुलनात्मक सुरक्षित देखिएको चितवनमा एकैदिन २० जनामा कोरोना पोजिटिभ देखिएपछि बजारमा चहलपहल घट्ने निश्चित छ ।
लकडाउन खुकुलो गर्ने कुनै निर्णय नआए पनि स्वतस्फूर्त बजार खोल्नेहरू बढ्दै गएका थिए । तर, एक्कासि ठूलो संख्यामा संक्रमित देखिएपछि चितवनबासी थप सशंकित देखिएका छन् भने प्रशासनले पनि लकडाउन कडा बनाउने बताएको छ ।
नारायणगढ बजारमा केही दिनयता मानिसको चहलपहल बढ्दै गइरहेको थियो । भरतपुर कोेरोना प्रयोेगशालामा आजै आएका ३० वटा पोजिटिभ रिपोर्टमध्ये २० जना चितवनकै छन् । बाँकी दश जनामध्ये नवलपरासी पूर्वका ५ जना, कपिलवस्तुका २, धादिङ, सप्तरी र काठमाडौंका एक–एक जना छन् ।

एकैपटक जिल्लाका २० जनामा संक्रमण देखिएपछि भोलिबाट लकडाउनलाई थप कडा बनाउने चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई बताएका छन् ।
लकडाउनका बेला बिहान १० बजेदेखि ४ बजेसम्म अत्यावश्यक सेवाका व्यापार व्यवसाय चालू भए पनि हिजोआज अरु व्यवसाय पनि फाट्टफुट्ट खुलेका देखिन्छन् । ठेलामा तरकारी, फलफूल, लुगाफाटो र जुत्ता चप्पल बेच्नेहरू चोकचोकमा देखिन्छन् । प्रशासनले बेलाबेलामा निगरानी गरी फुटपाथ र पसल बन्द गराउन आग्रह गरे पनि सुरक्षाकर्मीको उपस्थिति नहुँदा बजारमा केही पसल खुलेका हुन्छन् । साथै अधिकांश कामकाज भित्रभित्रै भइरहेका पनि छन् ।

जिल्लामा चेकजाँच पातलो हुन थालेपछि बजारमा मानिसहरू आउन थालेका हुन् । छिमेकी जिल्ला नवलपरासीपूर्वबाट नारायणगढ भित्रिने मानिसलाई पनि शनिबारदेखि चेकजाँच गर्न छाडिएको छ । आज सोमबार पनि गैंडाकोट हुँदै नारायणगढ प्रवेश गर्नेहरू विना झन्झट आइरहेका देखिन्छन् ।
सामाजिक सञ्जालमा पनि भोलिदेखि कडा लकडाउन गर्नुपर्ने आवाज उठाइएको छ । आज कोरोना देखिएकामध्ये अधिकांश क्वारेन्टिन बसेकाहरु छन् । केही स्वास्थ्यकर्मी छन् । हुन त समुदायमा देखिएको अवस्था अझै होइन । तर, बाहिर हिँड्दा सावधानी अपनाउनुपर्ने आवश्यकता भने अझै बढेको छ ।






