भरतपुर, २६ जेठ
चितवनको भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा आज एकैदिन २३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । कोरोना प्रयोगशालामा शुक्रबार र शनिबार संकलन गरिएका ३१० नमूनामध्येको रिपोर्टमा २३ जनाको पोजिटिभ आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिए । त्यसमध्ये ५ जना नवलपुरका छन् भने १ जना धादिङका छन् ।
उनीहरुमध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् । भरतपुरको निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना पोजिटिभ आएको उनले जानकारी दिए । उनीहरुमध्ये एकजना नारायणी सामुदायिक हस्पिटलमा कार्यरत चिकित्सक हुन् भने अर्का एकजना भरखरै मेडिकल अफिसर पासआउट रहेको बुझिएको छ ।
पोजिटिभ देखिएकामध्ये भरतपुर–३ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
त्यस्तै दुई जना कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचाररत बिरामी हुन् । उनीहरु २५ वर्षका पुरुष र ६६ वर्षीया महिला रहेको डा. तिवारीले जानकारी दिए । उनीहरु भने चितवनका होइनन् ।
पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् ।
भरतपुर महानगरपालिकाका ५ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया महिला हुन् ।
नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् ।
राजविराज–९ का एकजना महिला हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएर हाल डिस्चार्ज भइसकेकी ७२ वर्षकी छन् ।
त्यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ ।






