लघुकथा: छिमेकी

सिम्रन क्षेत्री

कहिलेकाहीँ ऐंचोपैंचो पर्दा आडैमा जोडिएको छिमेकीको घरमा पोल्टा थाप्न पुग्थिन् सार्की माइलाकी स्वास्नी । पण्डितका परिवारले पनि आँगनमै राखेर भए पनि भएका जेजति दाल, चामल, तरकारी दिएर खुसी बनाएर पठाउँथे ।

देशमा महामारीको प्रभावले जतासुकै बन्द थियो । लामो लकडाउनका कारण निम्नवर्गका मानिसहरू जसोतसो राहतबाट गुजारा चलाइरहेका थिए भने मध्यमवर्गीय मानिसहरूलाई आज के खाउँ, भोलि के खाउँ भनेर चिमोटिरहेको थियो ।

पण्डितको घरमा पनि आजको छाकपछि भोलिलाई खाने अन्न पात थिएन, न रासन किन्नका लागि नगद नै थियो । फेरि यो लकडाउनमा कोही कसैले पनि उधारो दिँदैनथे । आफ्नो पेटको लागि भन्दा पनि परिवारको लागि अझै ती सानी छोरीको लागि उसको मन भतभत पोलिरहेको थियो । लालबहादुर गीतापाठ गर्दागर्दै त्यहीँ झोक्राएर बसिरहेका थिए ।

उनको त्यो मलिन अनुहार, पल्लाघरे माइला सार्कीले देखिरहेका थिए । अचम्म मान्दै सार्की माइला पण्डितको आँगनमा देखा परे र आफ्नो टालेको टोपी मिलाउँदै पण्डित तर्फ हेर्दै भने- `के भयो पण्डित बा ! यहाँभन्दा अघि त मैले हजुरलाई कहिल्यै यस्तो अनुहारमा देखेको थिइन । सबै कुशलमङ्गलै त छ ?´ माइला सार्कीको कुराले पण्डित झल्याँस्स भए र पुस्तक बन्द गर्दै भने- `जेनतेन खाइएला बाँचिएला भन्ठानेको थिएँ तर यस्तो दिन पनि आउँदो रछ ।

सबैभन्दा ठूलो त पैसा पो रछ त बाबै ! भोलिबाट खाने चामलको दाना छैन । बेच्ने तरकारी पनि सबै बारीमै कुहियो । भएको पैसा पनि खाएरै सक्कियो ।´ लामो सुस्केरा हाल्दै बोले पण्डित ।

माइला सार्की छेवैमा राखिएको ढुङ्गामा टुसुक्क बस्दै भने- `अघि भर्खरै वडामा राहत बाँडेको रछ । मैले पनि केही दिनलाई रासन ल्याएको छु । हामीले छोको खानुहुन्न होला ! नभए त्यही बाँडिचुडी खानु हुन्थ्यो । रिसानी माफ होस् हजुर ।´ उसले हात जोड्दै भन्यो- `हामीलाई दु:ख पर्दा यहिँ पसारो पर्थ्यौँ र हाम्रो चुलो बल्थ्यो ।

आज हजुर भोकभोकै हुँदा कसरी धुनी लगाएर खान सकुँला र !´ माइला सार्कीको कुरा सुनेर पण्डितले आँखाभरी आँसु बनाए तर केही बोल्न सकेनन् । भित्रदेखि बढार्दै आएकी पण्डितनीले सुनेर भनिन्- `आ… बुढा ! केही हुँदैन । मर्नुभन्दा बहुलाउनु निको भन्छन् । उनीहरूले बनाएको मुर्ति मन्दिरमा चढ्ने रे, उनीहरू स्वयं मन्दिरभित्र छिर्दा अपबित्र हुने रे, उनीहरूले बनाएको गरगहना पबित्र हुने रे, उनीहरूले बनाएको भाँडावर्तन हाम्रो भान्साभित्र चलाउन हुने रे, उनीहरूले सिलाएका कपडा लगाउन हुने रे, उनीहरूले बिहामा चलाएको बाजा चल्ने रे तर उनिहरुसँग बिहाबारी नचल्ने रे, उनीहरूले छोएका पैसा, श्रम, पसिना सबै चल्ने रे तर उनीहरू स्वयंलाई छुन नहुने रे, उनीहरूले छोएको पानी नचल्ने रे….. यो कस्तो धर्म हो ! यो सबै मानिसको भ्रम हो, अन्धबिश्वास हो । यो त हामी जस्तै मानिसले नजानेर, नबुझेर बनाएको हो।

अछुत त त्यो हो, जसले दु:ख दिन्छ, पीडा दिन्छ । जसले दु:ख पर्दा सहयोग गर्छ, मलमपट्टी बन्छ त्यो त भगवान हो बुढा । जसरी धेरैवर्ष पहिले सतीप्रथाको अन्त्य भएको थियो त्यसरी नै हामीले पनि जातीयहिंसालाई जरैदेखि उखेलेर फाल्नुपर्छ।´

कुचो पिँढीमा राख्दै, सार्की माइलातिर हेर्दै पण्डितनीले भनिन् – `साइँला ! हाम्रो लागि पनि चामल तेल पैँचो देउ, हुँदा तिरौँला ।´
सार्की माइला ङिचिक्क दाँत देखाउँदै अघि लागे, पण्डितनी बज्यै उनकै पछिपछि लागिन् ।

(भरतपुर-१, दियालो रोड, चितवन)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट