नयाँदिल्ली, २३ जेठ (रासस/एएनआई)
भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरूमा भन्दा पछिल्ला दिनहरूमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरूको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरूका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ८५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।
योसँगै देशभरी अहिलेसम्म संक्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर भारतमा अहिलेसम्म ६ हजार ३४८ जनाको मृत्यु भइसकेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार देशभरी अहिले पनि १ लाख १० हजार ९६० जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी १ लाख ९ हजार ४६२ जना संक्रमण मुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार अहिलेसम्म सवैभन्दा धेरै संक्रमितको संख्या महाराष्ट्र राज्यका रहेको छ । महाराष्ट्रमा मात्रै ७७ हजार ७९३ जना सङ्क्रमित भएका छन् ।
दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा २७ हजार २५६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । दिल्लीमा २५ हजार ४ जना संक्रमित रहेका छन् ।
भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले संक्रमितहरूको संख्या धेरै देखिदै गएको अधिकारीहरूले बताएका छन् ।





