विप्लव काफ्ले
भरतपुर, २३ जेठ
भरतपुर महानगर क्षेत्रलाई फलफुलको बगैँचाको स्वरुप दिने अभियानलाई निरन्तरता दिइने भएको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर असार १४ गते फलफुलका विरुवा रोप्न तथ्यांक लिने काम भइरहेको छ । ‘भरतपुर–एक बगैँचा’ अभियानले महानगरलाई केही वर्षमै हरियाली महानगरका रुपमा चिनाउने छ ।
भरतपुर–७ स्थित उज्वल टोलका अध्यक्ष रामचन्द्र चालिसेले टोलभित्र आवश्यक पर्ने विरुवाको घरदैलोमै पुगेर विवरण लिने काम भइरहेको बताए । “फलफुलका विरुवा रोप्न सबैले साथ दिदैछन्”, उनले भने, “केही वर्षमै टोलनै हरित हुने विश्वास गरेका छौँ ।” उनका अनुसार माग फारममा टोलबासीले चाहेका फलफुलका विरुवा माग गर्न सक्नेछन् । सरकारले गत वर्षदेखि वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । गत असारमा महानगर क्षेत्रमा ६५ हजार बढी फलफुलका विरुवा रोपिएको थियो ।
बागमती प्रदेशका सांसद विजय सुवेदीले यो वर्ष वृक्षारोपणका लागि बजेट नभएपनि अभियान नरोकिने बताए । “भरतपुरलाई बगैँचा बनाउने काम अगाडी बढ्नेछ”, सुवेदीले भने, “यसपाली छुट्टै बजेट छैन, तर यो अभियान रोकिदैन ।” उनका अनुसार कृषि ज्ञान केन्द, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र डिभिजन वन कार्यालयसँग समन्वय गरेर फलफुल लगायतका विरुवा हरेक घरधुरीसम्म पु¥याइनेछ ।
“हरेक घर तथा सार्वजनिक संस्था आसपासमा फलफुलका विरुवा लगाइने छ, जंगल क्षेत्रमा हर्रो, बर्रो, अमला लगाइने छ, सार्वजनिक क्षेत्रमा वरपिपल रोपिनेछ”, उनले भने, “कुन ठाउँमा कस्ता विरुवा आवश्यक छ भनेर तथ्यांक लिने काम भएको छ, एकै दिन ७० हजार बढी विरुवा रोपिनेछ ।” प्रदेश सरकारले सरसफाई र हरियाली प्रर्वद्धन कार्यक्रमका रुपमा बजेट विनियोजन गरेपनि यसपाली सो बजेट परेको छैन । गत वर्ष प्रदेशले ५० लाख बराबर बजेट दिएको थियो ।

सांसद सवेदीले महानगर केही वर्षमै फलफुलको बगौँचा सरह चिनिने बताए । उनी चितवन २ ‘ख’ निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद हुन् । वृक्षारोपण अभियानमा वे गुरुप लगायतका सामाजिक संघसंस्थाले सक्रियता जनाएका छन् । वडा कार्यालय, टोल सुधार समितिले विवरण संकलनको काम गरिरहेका छन् । गत असारमा सांसद सुवेदीको निर्वाचन षेत्र रहेका ७ वडामा फलफुल विरुवा रोपण बढी केन्द्रीत थियो । यसपाली महानगरभरीनै विस्तार गरिदैछ ।
भरतपुर महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका सरसफाई सहायक जानुका केसीका अनुसार २, ४, ५, ७, ११, १२, १० नम्बर वडाका हरेक दुई टोललाई नमुना टोलका रुपमा छनौट गरि ‘एक टोल–एक विरुवचा चिनारी’ अभियान चलाइएको थियो । यसरी छनौट भएका टोलले टोलभित्रका सडकमा एकै किसिमका फलफुलका विरुवा रोपेका थिए । आँप, लिचि, अम्बा, कागती, रुखकटहर, एभोकार्डो लगायतका फलफुल रोपेका थिए । ती टोलभित्रका सबै घरलाई न्यूनतम ५ विरुवा दिइएको थियो । करेशाबारीमा ४ विरुवा र कम्तिमा १ विरुवा सडकबाट देखिने गरी रोप्न लगाइएको थियो । यस्तै महानगरका सबै वडा कार्यालय मार्फत स्थानीयलाई विरुवा बाँडिएको थियो ।
स्मार्ट शौचालय शिलन्यास
विश्व वातावरण दिवसको अवसर पारेर भरतपुर–१२ स्थित रामेबल सामुदायीक वनमा रहेको राइनो चिल्ड्रेन पार्क परिसरमा स्मार्ट शौचालयको शिलन्यास गरिएको छ । प्रदेश सांसद विजय सुवेदी, भरतपुर महानगरकी मेयर रेनु दाहालले संयुक्त रुपमा शिलन्यास गरे । चौविसकोठी, रामनगरमा छिट्टै शिलन्यास गर्ने योजना छ । १ करोड २० लाखको लागतमा शौचालय निर्माण हुनेछ । ज्योति निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ । मेयर दाहालले राइनो पार्कको डिपिआर तयार भैसकेको जानकारी दिइन् । उनका अनुसार २ करोड ५० लाख लागतमा पार्क बन्नेछ । पछिल्लो एक वर्षमै पार्कको स्वरुप फेरिएको छ ।

दिवस मनाइयो
भरतपुर महानगरले विश्व वातावरण दिवस मनाएको छ । शुक्रबार मेयर रेनु दाहालले कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा रोपेकी छन् । उनले वातावरण संरक्षण र दिगो विकासमा सबैको सामूहिक सहभागीता हुनुपर्ने बताइन् । उनले वातावरण संरक्षण र विकासका पूर्वाधारलाई समानान्तर ढंगले अगाडि बढाउन महानगर तत्पर रहेको बताइन् । महानगरका २९ वटै वडामा वृक्षारोपण गरी वातावरण संरक्षण सम्बन्धी जनजागरण सुरु गरेको छ । शुक्रबार मात्रै महानगरपालिकाले ६ सय बढी विभिन्न जातका विरुवाहरु रोपेको छ ।





