कोटघरको बाहुनलाई थपडी बजाउन लगाऔँ (संस्मरण)

शिशिर दूरबस्तिको

आज बिहान छिट्टै आँखा खुल्यो । हिजो बाँकी रहेको दुईवटा चुरोट मध्य एउटा जलाएँ । किचनमा गएर रुममै पनि पिउँदा हुन्छ तर अर्को भाइ छ, ऊ पिउँदैन ।  म भने बाठो नहोस् भन्ने चाहन्छु ।
किचनमा मैले देखेँ , चक्कु र चपिङबोर्ड आज सँगसँगै एकमाथि अर्को  खप्टेर बसेको । घरको खुकुरी र अचाकोको याद आयो मलाई यसरी आज बिहानै । प्रवासमा छु म । अचेल साना निक्कै साना कुराहरू पनि यादमा आउन थालेका छन्, किन किन ?
लाग्दैछ अप्ठ्यारोमा परेपछि न,  मान्छेलाई जीवन पढ्न रुचि हुने रहेछ ।
बाको बरखी बार्दा म कृयापुत्री हुँदा जती मैले जीवनमा जीवन कहिल्यै पढीन, पढ्नै पाईन ।
त्यस्तै खाले त्यही टाइपको फुर्सद अहिले पुरै ब्राह्मणका मान्छेलाई दिएकोछ समयले । मलाई लाग्छ यो मौसम, यो समय, यो याम आफैले आफैलाई पढ्न बुझ्न अति उत्तम छ र हो । यस्तो समय निकाल्न अरू बेला असम्भवप्राय: छ बरू यही समय कति लम्बिने हो, थाहै छैन । धेरै मान्छेहरूले अहिले यो त्रासदीको समयलाई स्कुलको अन्तिम पिरियड या भनौँ अन्तिम कक्षा सम्झेर पनि बसेका छन्, बसिरहेछन्, बस्नु पर्ने बाद्यता छ । तिनलाई लाग्छ यो सकिनेबितिकै झोला बोकेर घर जाउँला खाजा खाउँला साथीसंँग खेलौँला झैँ गरेर व्यग्र प्रतीक्षा गरिरहेका छन् ।
म अहिले किचनमा छु चुरोट पिउँदै अघि भनी हालेँ। मेरो अघि चपबोर्ड माथी टेबुलमा छुरी छ । म नियालेर हेर्दैछु त्यसैलाई ।
सोच्दैछु चपबोर्ड र अचानोमा  काम नभै छुरी, खुकुरी चल्दैन रहेछ, चल्छ र ? यसरी अचानक त्यो चपिङबोर्डमाथिको चक्कु हेरेर मेरो मनले प्रश्न गर्‍यो मलाई ।
र  आज मलाई खुकुरी र अचानो एक आपसमा दुस्मन हुन जस्तो लाग्न छोडेको छ ।  किनकिन दुईवटा चुपचाप बिचमा हावा पनि नछिर्ने गरि आलिङ्गन भएको देखे त्यो नि मेरै आँखाले । मेरो मनले निर्णयनै गर्‍यो यी दुई दुस्मन होईनन्, होलान् जस्तो लाग्दैन, कहिल्यै लाग्न दिन्न म अबबाट  । दुई दुस्मन कसरी यसरी मिलेर बस्न सक्छन्, नहुने कुरा जस्तो लाग्न थाल्यो । चुरोट तान्दै हेर्दैगर्दा ।
किनकी काटिने बस्तु नहुने हो भने खुकुरी र अचानो चक्कु र चपिङबोर्ड आफैमा साथी जस्तो खप्टेर अंकमाल गरिगरि सँगै बस्छन्, बसिरहन्छन् । अहिले कति बन्द बधसालामा यसैगरी कति बस्दै बह पोखिरहेका होलान् यो लकडाउनमा यस्तै गरेर यीनिहरूले जस्तै ।
जब दुई दाइभाइको बिचमा तेश्रो पस्छ, पस्न खोज्छ अनि तीन दाईभाइ सँगै  मिलेरै त भकुर्ने हो, लड्ने हो । संसारमा सबैले आफ्नो अस्तित्वको खातिर यस मानेमा अचानोमा खुकुरी चलाउने हात पनि एउटा अर्को भाइनै हो झैँ पनि लाग्यो मलाई आज ।
हुन त यत्ती कुरा नबुझेर कति दाइभाइलाई अचानो र खुकुरी जस्तो भन्छन् कतिले । विम्बै मिल्दैन कम्तिमा विम्ब त मिल्नु पर्ने नि  उखानमा । उखान त विम्बात्मक हुनुपर्ने हो नि, होइन र ? तपाईलाई कस्तो लाग्छ ? अन्तर कुरो नबुझी कस्तो उखान बनाउँछन् या बनाए मान्छेले । आज किन यस्तो लाग्यो मलाई ?
म तपाईंहरूलाई आज एउटै कुवाको तीन लोटा पानीको भाग्यको र तिनीहरुको जीवनीको अनि तिनीहरूको भोगाइको  बारेमा बताउन जाँदैछु ।
जातीय नजरहुनेहरूले मैले मानेको एकै कुवाको तीन लोटा पानीलाई मात्रै भावनात्मक कुरा भनेर तर्क गर्लान्, तपाईं पनि गर्नुहोला । त्यो छुट छ मेरोमा तपाईँलाई सदासदा ।
अहिलेका फेसबुके युट्युबेले जसरी तर्क गरे त  फेरि त्यसमा मेरो भन्नू केही छैन ।
मैले यहाँ मेरा बचपनका अरू दुई र म गरि तीन जनालाई तीन लोटा पानी बुझेको छु । हामी पढेको स्कुललाई आज मैले मानेकोछु एउटा  कुवा । स्कुल कुवानै त हो ज्ञानको आखिर ।
स्कुल र कुवामा फरक देख्नेहरूले तिर्खाको अर्थ र परिभाषा दिनसक्छ जस्तो मलाई लाग्दैन । यदी त्यस्तो कोही छ भने त्यो शिक्षकले प्रश्न सोध्दा भित्तातिर हेर्ने र कान कनाउने अनि यताउतीको बेन्चतिर नजर डुलाउने खाले विद्यार्थी मात्रै हो, हुनुपर्छ ।
तिनताकाका ती बचपनका दिनमा आज म चुरोट सल्काउँदै पुगें । निमेषभरमै भर्खरै ।
 यो कल्पनाशील मन कतिको स्पिडमा दौडिन्छ हँ ? म सोच्छु । अबुधाबीबाट एउटा चुरोट आधी नजल्दै मेरो कल्पना काठमाडौँ पुगेर बसमा चढी  मुग्लिनको बाटोहुँदै चितवनको चारकोसे जंगल कटेर माडी कल्याणपुरको त्यो हाम्रो स्कुल जाने बाटाको खरदार डाँडामा पुग्यो, त्यो नि नाथे एउटा चुरोट नसकिँदै।
किन कुनै बैज्ञानिकले कल्पनाको, डुल्ने मनको  स्पिड नाप्न गाडीको किलोमिटर नाप्ने मेसिन जस्तै केही चिज किन नबनाएका होलान् । भाउँतोभाउँतो पत्ता लाउने त्यी बैज्ञानिकहरूले यो कुरामा किन रुचि राखेनन् होला ? एकछिन त मैले आज यस्तो पनि सोचें ।
र म अहिले माडी चितवन, कल्याणपुरको खरदार डाँडामा छु । त्यो पनि झोलैबिना हातमा किताब बोकेर , र छन् म सँग मेरा स्कुले दुई साथी ।
एउटा छे रामराज्यपुरकी मेरै क्लासमेट बसन्ती गुरुङ । अनि अर्को लच्छिमीनिवासको मनिराम परियार ।
कुरा बसन्ती बाट सुरु गरौँ, मेरा बा ब्रीटिसको इस्टइन्डिया कम्पनीका दोश्रो विश्वयुद्ध सकिएसँगै स्वैच्छिक अवकास लिएका पल्टने थिए, रैछन्, हुनुहुन्थ्यो । पहिलापहिला मलाई मात्रै होईन मेरै आमालाई धरी बाको कुरा विश्वास लाग्थेन । बुढा गफाडीको राजा थिए । होला झैँ लाग्थेन मैलाई झै धेरैलाई, तर रैछन्, हुनुहुँदो रहेछ । हामी बाहुनमा पनि अझ उपाध्ये कसरी सम्भव हुन्थ्यो जस्तो लाग्थ्यो । लाहुरे हुनलाई क्षेत्री या गुरुङ मगर हुनुपर्थ्यो, चाहिन्थ्यो । मै लाउरे हुन्छु भनेर बनारस जाँदा त बाहुन भएको नाताले दु:ख मात्रै भो र हुनै सकिन । बाले म लाहुरे हो भन्दा कसरी पत्याउनु मैले । पिन्सिनै लिएपछि भने पत्याइयो, पत्याउनै पर्‍यो ।
अपत्यारिला कुरामा पनि सत्यता हुँदो रहेछ, हुन्छ, हुने रहेछ ।
यहाँ म कुरा गर्दैछु मेरो क्लासमेट बसन्तीको । मेरा बामा एउटा होईन कति हो कति भाषाको ज्ञान थियो । गुरुङ भाषा त बुढाले खुदै गुरुङले भन्दा राम्ररी बोल्थे । को कहाँको गुरुङ हो भन्ने बाले बोल्नेको लचक या भनौँ लवज सुनेरै बुझ्ने, । त्यहाँसम्मको गुरुङ भाषामा दखल राख्ने बाहुन कोहि होला र खोइ लाग्दैन मलाई ।
हो बसन्तीकोमा मेरा बा बेलाबेला गैरहन्थे । घरमा ठाकठुक भयो कि गाउँ चाहार्ने बाको साह्रै नहुने बानीनै थ्यो ।
हो बसन्तीले मलाई मेरो नामले भन्दा नि फलाना बुढाको छोरो  भनेर चिन्थी ।
 मान्छेले परिचयमा किन बाउबाजे खान्दान जोड्छन्, सोध्छन्, बुझ्छन् अचम्म लाग्छ ।
 ऊ मैसँगै एउटै कक्षामा मेरै उता पट्टिको लास्ट बेन्चीमा एकै लहरमा बस्ने केटी हो । त्यति नजिककी उस्ले मलाई फलानाको छोरो भन्थी । मेरो नाम उसलाई किन असहज लागेको होला ? त्यो उसैको मनलाई थाहा होला, छोडौं ।
ऊ त्यही हँसीली जिस्किने बानी भएकी मेरो स्कुल पढ्दैदेखिको साथी बसन्ती हो । आज म सँगै मेरो कल्पनामा छे । ऊ पनि हातमा मैले जसरी झोला बेगर किताब बोकेर यो खरदार डाँडामा । र छ मनिराम पनि म सँगै ।
बसन्ती शब्द, नाम बोल्दा, सुन्दा कोमल मुलायम र सुनुसुनु लाग्ने मीठो सुरिलो सुनिने नाम हो । तर बसन्तीको जीवनी बिल्कुल नाम भन्दा फरक छ, थियो र भयो । ऊ मलाई महान योद्धा लाग्छे मेरा बाले लडेको दोश्रो विश्वयुद्धमा भन्दा नि बढी बसन्तीले उसको जीवनमा गरेको संघर्ष ठूलो हो जस्तो लाग्छ मलाई ।
ऊ केटी हो तर केटाहरूलाई चुनौती दिने केटी । वर्षौँ हाम्रो भेटघाट भएन । मैले आठ कक्षामै त्यो स्कुल छोडेँ त्यसैले ।
एकदिन अचानक मैले अखवारमा देखेँ ऊ त नेपालकै पहिलो महिला डोजर चालक  भैसकिछ। उसका कथाहरूको फेहरिस्त पढ्दैगर्दा म कहिले नदीको किनारामा बसेजस्तो सम्झेँ आफैलाई र देखेँ छालहरूमा उसलाई ।कहिले भत्केको भङ्गालो जस्तो मेरो मन भयो र पग्लिए बरफ पग्ले जसरी । कहिले दुई तीनवटा अलगधार अलग गन्तव्य लाग्ने मुग्लिनको चोक जस्तै भएँ म उसको बारेको त्यो समाचार पढ्दै गर्दा । मैले सम्झे हामी तीन एउटा पोखरा अर्को काठमाडौ र अर्को तेस्रो चितवन पुग्ने बाटाको कथा जस्तै जिन्दगी जिएका प्रात्र हो । तीन लोटा पानी हौँ एउटै कुवाको ।
उस्ले त्यो मुकाममा आफुलाई पुर्‍याउन गरेको संघर्ष पढ्दै गर्दा म कहिले रोमाञ्चक हुन्थेँ कहिले निरास । कुनैकुनै शब्दले उस्ले मलाई ओए बाहुन कता हराईस् ज्युँदै छस् कि मरिस भनेझैँ पनि बनायो अचम्मसँग ।
 उसले आफ्नो यतिविधि परिचय बनाएकोमा ममा गरे के असम्भव रैछ र (?) भन्ने लाग्यो त्यो दिन उसको समाचार पढेर ।
अब अर्को साथी मनिराम परियारको कुरा गर्छु ।
कोट घरमा हरेक वर्ष हुने सप्तमी पूजामा जहिले बाहुनबादी समाजको नजरमा तारो हुन्थे मनिरामका  बा, ससबहादुर परियार । नरसिंहा बजाउने उनी बिद्रोही स्वभावका हुन् । सबैले उनलाई ससे आयो भने फेरि उकेचो गर्छ भन्थे । नवरात्रीको पाडो राँगो काट्दा हरेक वर्ष उनले मन कुँडाई रहे, बह पोखिरहे मन्दिरमा छिर्न नदिएकोमा र बिद्रोह गरिरहे । समाजले पनि दोषी फेरि उनैलाई देख्यो ।
त्यत्तिमात्रै हो र मैलेधरी दोषी देखेँ त्यो बेला । अहिले चालिसवर्षको हुँदा मलाई म र मेरो गलत सोच देखेर पस्चाताप हुन्छ बेलाबेलामा ।
 अहिले म यो सब हुनुमा मात्रै मेरो र त्यो बाहुन समाजको र मात्रै बाहुनको दोष हो भन्ने देख्दिन । उनले भन्थे – मलाई मन्दिरको प्रसाद टिको आफैले यनिकी तिमी बाहुनहरूले जसरी लगाउन, खान दिन्नौ भने म बाजा बजाउन्न, नगरा ठोक्दिन । हरसाल उनी यस्तै भन्थे सबै गाउँले उसैमाथी जाईलाग्थे । उसैलाई सराप्थे जा ….जा ….तँ ….नभए तँ…. नुखुल्किए हामी अर्का  ल्याउँछौ भन्ने कति थेथे, छन् अझै पनि ।
उनको मनलाई च्यालेन्ज गर्ने भनेर बरू बाहुन समाजले आफै ससबहादुर दाइको पेसा अंगाले, बाजा बजाउन थाले तर उनको दर्शनलाई स्विकारेन् अचम्म ।
कस्तो बाहुनबादी सोच हो त्यो आफै दमाई हुन सक्ने बरू दमाईदाईलाई भाइ मान्न नसक्ने । हैट यो रुढी पनि कति ठूलो रोग रहेछ ।
फेरि गाउँलेले अर्को गाउँको दामाईको टोलीलाई बोलाउँदा ती ससबहादुर दाइ कति रुन्थे होलान् । अहिले म सोच्छु त्यो गाउँलेको पेलाईले कति तात्थ्यो होला रगत, कति उम्लिन्थ्यो होला आँखा उनको ? मापन गर्न गाह्रो छ थर्मोमिटर प्रयोग गरे पड्किन्थ्यो होला सायद ।
मलाई यहाँनेर लागेको र खड्केको कुरो के हो भने दलितै पनि दलितलाई दलितैको मुद्दामा साथ किन दिन्नन् ? किन फेरि बाहुनबादी सोचलाई साथ दिन्छन् ? खुदै दलित भएर आफ्नो समुदायको हकहितको लागि सहि बिचारलाई साथ दिन किन हच्किन्छ मान्छे। अनि यसरी दलितको मुद्दा कसरी  सामधान हुन्छ ? कस्ले सामधान गर्छ ?
आफ्नै भाइ तगारो भए पछि घर चलाउन कम गाह्रो हुन्छ । फलामको चिउरा चपाउन भन्दा पनि गाह्रो हुन्छ ।
ती पल्लो गाउँका दमाईहरूलाई त्यो बेला हामी आउँदैनौँ ससबहादुर दाईको माग जायज छ भनेर भन्न तिनिहरूले  किन नसकेका ? केको डरले नसकेका ? अनि किन नवमीको पाडो मात्रै  तिनले आफ्नो सम्झेका ? अचम्म लाग्छ भन्या । त्यो समस्या यद्यपि त्यस्तै उस्तै छ अझै । तर ती दाइ हारेका भने छैनन् होला ।
तिनै बिद्रोहीको छोरो मनिराम परियार मेरो बचपनको साथी आज त्यही गाउँमा शिक्षण पेशामा आवद्ध छ । र समाती रहेछ उसले तिनै उनै बाहुन समाजका बाहुन क्षेत्रीका साना नानीबाबुहरूको कलिलो हात र पढाइ रहेछ जीवनको पढाइ । सिकाई  रहेछ बिभेदको  कखरा । औँला भाँचीभाँची गनि रहेछ दिन मुक्तिको । म उसैको क्लासमेट भएर नि उस्ले कति पढेर शिक्षण पेशा अंगाल्यो थाहा छैन । तैपनि उसको गतिविधि नियाल्दा ब्याचलर गरेको छ पक्कै जस्तो लाग्छ ।
अस्ति कुरै कुरामा पोखराको निक्कै बौद्धिक लाग्ने कतारमा रहेका विश्वकर्मा भाइ रुपको भ्वाईस म्यासेज सुनेँ ।
ऊ पनि यहि खाले पेशा गरेको पढेको पढाएको र देखाएको कैयौँलाई जिन्दगीको मार्ग । उस्ले पनि सुनायो । दाइ म स्कुलको मास्टर बुझ्ने मान्छे मेरै सर्कलको अर्को बाहुन मास्टरले एउटै टेबलमा बसेर तँ पनि चिया खाने भैस् भन्यो ।
त्यो दिनबाट त्यो बौद्धिकस्तर देखेबाट मलाई त नेपाल बस्नै पनि नहुने देश हो कि जस्तो लाग्छ, लाग्न थालेको छ भन्यो । कास डिभी परिदिए म नाचेर जान्थेँ यो देश छोडेर तर परेन के गर्नु कतारमा चौकिदारी गर्दैछु ।
मैले उसको भ्वाइस सुनेर नि:शब्द भएँ । कसरी के भनौँ के भनौँ भयो शब्दै आएन अँ हँ कुनै शब्द आएन । मैले अहिलेसम्म यो आलेख लेख्दासम्म रिप्लाई गरेको छैन ।
हामी कुन बाटोमा जाँदैछौ, हामी बसेको समाज कता जाँदैछ अझै ? जस्तो मात्रै लागिरह्यो,  लागिरह्यो मेरो मनमा आज बिहानै ।
अर्को चुरोट सल्काएँ र सोचें  छाती तातो भयो   । तातोले आखिर तातोलाई नै त खोज्दो रहेछ, साथीले साथी खोजे जसरी ।
म कल्पनामै सहि यो खरदार डाँडामा पिरिई रहेकोछु अहिले उनै मेरा दुई साथीहरू बसन्ती र मनिरामसँग । र भनी रहेको छ मेरो चेतनाले अब जिन्दगी बुझियो हेर बसन्ती, हेर मनिराम जिन्दगी देखियो पढियो यार । हिँड जाउँ स्कुल र पढाउँ यो समाजलाई नैतिक, बिभेदको गणित र  सामाजिक शिक्षा र उमारौँ ससबहादुर जस्तो ज्वाला यो समाजमा अनि ल्याउँ परिवर्तनको बाढी । यो संकृण समाजमा अनि फर्केर मिलेर जाउँ हामी तिनै जना ।
 ऊ त्यो तल आँपको फेदमुनी, भैंसी चराउने  बुढाले गाएको यानीमाया भाका सुनौं र नाचौं दिल खोलेर हातमा हात समाएर र बोलाऔं कोतमा पूजा गर्ने कोटघरको मुल पुरोहित बाहुनलाई र लगाऔं थपडी बजाउन ।
भरतपुर-७ तेह्रसालचोक, चितवन
(हाल: संयुक्तअरब इमिरेट्स)
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट