भरतपुर, २१ जेठ
केही दिन अघि पोखरामा चितवनबाट लगिएको तरकारी नष्ट गरिएको घटनाले ठूलो चर्चा पायो । कोरोनाको संक्रमण फैलनसक्ने आशंका गर्दै ठूलो परिमाणमा तरकारी नष्ट गरिएको घटनाको आलोचना व्यापक भएको थियो ।

त्यहाँ नष्ट गरिएकोमध्ये टूलो परीमाणको तरकारी चितवनको उत्पादन हो । चितवनमा उत्पादित तरकारी काठमाडौं, पोखरा, वुटवललगायतका प्रमुख शहरहरुमा बिक्री हुने गर्दछ । टमाटर, खुर्सानी, लौका, चिचिण्डा, करेलो, घिरौंला, भिण्डीलगायतका तरकारी अहिले उत्पादन भएका छन् । तर उत्पादित अधिकांश तरकारी बिक्री नभई खेतमै कुहिएर खेर गएका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६ मा पर्ने दर्देनीमा युवा कृषक लेखनाथ भुषाल‘समिर’ले २ विघा जमिनमा लगाएको लौका कुहिन थालेको छ । सामान्य मूल्यमा पनि बिक्री नभएपछि उनले लौकाको झ्याङ काटिदिए ।
बिक्री नभएको लौकासहितको झ्याङ हटाउन उनले पाँच हजार रुपैयाँ खर्च गर्न लागेका छन् । उनले यती क्षेत्रफलमा लौका लगाउन ३ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको बताए ।

तरकारीको उत्पादन राम्रो हुने पश्चिम चितवनमा यसवर्ष करिब ४५ विघा जमिनमा लौका खेती गरिएको अनुमान छ । प्रतिकिलो ३ रुपैयाँ दिँदा पनि कसैले नकिनेर कुहिएको उनले बताए ।

लौकाको जस्तै हालत छ करेलाको । पोखरामा नष्ट गरिएको करेला दर्देनी कै भुषाल र अनुप सुवेदीको बारीबाट बिक्री भएको थियो । निकै सस्तो मूल्यमा भएपनि किसानहरुले करेला बिक्री गरिरहेका छन् ।

समयमै बिक्री गर्न नसक्दा धेरै करेला अहिले झ्याङमै कुहिन थालेको छ । करेला प्रतिकिलो ५ रुपैयाँ बिक्री भइरहेको छ ।

करेलालाई सामान्य मूल्य दिएपनि सँगै उत्पादन भएको चिचिण्डा त बिक्री नै भएन । किसानहरुका अनुसार यसपाली चिचिण्डाको बिक्री शून्य जस्तै रह्यो ।

पश्चिम चितवनका चिचिण्डाबारी कुहिएको चिचिण्डाले गन्हाउन थालेको छ । “अरु तरकारीलाई त थोरै भनेपनि पैसा दिएकै थिए । तर चिचिण्डाले त मूल्य नै पाएन”, भुषालले भने, “सित्तिमै लैजाओ भन्दा पनि कसैले नलेगेपछि कुहिएर गयो ।”
किसानले उत्पादन गरेको टमाटरको बिक्री भने सन्तोषजनक छ । टमाटर खरिद गर्नेहरु गाडी लिएर बारीमै पुग्ने गरेका छन् । यद्यपी टमाटर पनि सबैको बिक्री भएका छैनन् । केही किसानले लगाएको टमाटर झरेर गएको छ ।

बोडी र भिण्डीको अवस्था पनि उस्तै छ । ठूलो क्षेत्रफलमा लगाइएको बोडी, भिण्डीले सामान्य खर्च पनि उठाउन नसकेको किसानहरुले गुनासो गरे । “टिप्ने खर्च पनि नधान्ने अवस्था आयो”, भरतपुर–२६ रोधीटोलकी लक्ष्मी भुजेलले भनिन्, “बिक्री गर्न पनि नसकिने अवस्था आयो ।”

किसानका उत्पादनहरु जेठ ८ गते सम्म सस्तो मूल्यमै भएपनि जेनतेन बिक्री भएकै थिए । “त्यसपछि त किन्ने पनि आउन छाडे”, भुजेलले भनिन्, “आउनेले पनि मूल्य दिएनन् ।”

प्रायःले जमिन भाडामा लिएर तरकारी खेती गरेका छन् । यसरी खेती गर्नेहरु प्रायःले अहिले भाडा बुझाउन पनि समस्या हुने अवस्था भएको बताए ।

लकडाउनको समयमा बजार क्षेत्रमा तरकारीको मूल्य बढ्दो छ । तर उत्पादन गर्ने किसानहरु भने मूल्य नपाएर निरास छन् । केही किसानले उत्पादन आफैले बजार पु¥याएर राम्रो आम्दानी गरेपनि प्रायः किसानहरु अझै पनि बिचौलियाको फन्दाबाट मुक्त हुन सकेका छैनन् ।

फोटो/भिडियो-राजेश घिमिरे





