भरतपुर, २१ जेठ
नेपालमा आज एकैदिन २०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । जसमा २२ जना महिला छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना पोजिटिभ पुष्टि भएकाको संख्या २ हजार ३ सय पुगेका छन् ।
पछिल्लो २४ घण्टामा थप १२ जना डिस्चार्ज भएका छन् । जनकपुर अस्पतालबाट ५ जना, टेकु अस्पताल काठमाडौंबाट १ जना, युनिफाइड कमाण्ड अस्पतालबाट १ जना, शिक्षण अस्पताल महाराजगञ्जबाट १ जना, बुटवलबाट ४ जना डिस्चार्ज भएका हुन् । प्रदेशगतरुपमा १ बाट ४८, २ बाट १०९, बागमतीबाट ३१, गण्डकीबाट ३ जना, ५ नम्बरबाट ८० जना सुदूरपश्चिमबाट ७ जम्मा गरी हालसम्म २७८ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशभर ८० हजार २६७ जनाको पीसीआर परीक्षण गरिएका छन् भने १ लाख २० हजार ३७९ जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा ४ हजार ९२४ पीसीआर र ४ हजार ३४ आरडीटी परीक्षण गरिएका छन् । अहिलेसम्म सबैभन्दा बढी पीसीआर परीक्षण गरिएको हो ।





