राहत दिनुपर्ने सरकारले राजश्व र प्रशासन लगाएर आहत दियोःव्यवसायी

भरतपुर, २० जेठ
लकडाउनका कारण आर्थिक गतिविधि गर्न नपाएर पीडित व्यवसायीहरुले राजश्व कार्यालयको पछिल्लो सूचनाले थप पीडा दिएको बताएका छन् । दुई महिना भन्दा लामो लकडाउनमा ठूलो क्षति व्योहोरेका व्यवसायीहरुले सरकारले राहत उपलब्ध गराउनुपर्नेमा राजश्व र प्रशासन लगाएर आहत दिइरहेको बताए ।

राजश्व विभागले सूचना जारी गर्दै फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा विवरण अनुसारको कर दाखिला गर्न जेठ २५ गते सम्मको समयसीमा दिएको थियो । साथै, फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर पनि जेठ २५ गतेसम्म बुझाउन भनिएको छ । त्यस्तै २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम जेठ मसान्तसम्म दाखिला गर्नुपर्नेछ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसायीले अब लकडाउन थेग्न नसक्ने बताए । “३२ सम्म लकडाउन गरेर २५ गतेसम्ममा कर तिर भन्नू न्यायसंगत छैन”, उनले भने, “राहत पर्खेर बसेका व्यवसायीलाई सरकारले झन् आहत थप्ने कोसिस गरेको छ ।” उनले करको कुरा लकडाउन सकिएपछि मात्रै गर्नुपर्ने बताए ।

संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले कडा किसिमको लकडाउनको औचित्य अव समाप्त भइसकेको भन्दै मोडालिटीमा परिवर्तनगरी आर्थिक गतिविधि खुकुलो बनाउनुपर्ने बताए । “व्यवसायीहरु यो अवस्था धान्न नसक्ने भइसकेका छन्”, उनले भने, “हामी चितवन प्रशासनलाई आधिकारिकरुपमा यो कुरा जानकारी गराउने तयारीमा छौं ।” उनले पुरै नखोलेपनि मापदण्ड बनाएर पालैपालो खोल्ने वा ठाउँ अनुसार खोल्ने व्यवस्था मिलाएर सहजीकरण गर्नुपर्ने बताए । राजश्व विभाग र प्रशासनको नीतिले सरकारप्रति व्यवसायीको धारणा नकरात्मक बन्न थालेको भन्दै उनले यस विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।

व्यवसायी विष्णुप्रसाद कँडेलले लकडाउनको विरुद्ध व्यवसायी सडकमै उत्रनुपर्ने अवस्था आउन लागठेको बताए । “हामी अहिले सामाजिक सञ्जालमार्फत आफ्ना कुराहरु राखिरहेका छौं”, उनले भने, “यो अवस्था लम्बिरह्यो भने त सहेर बसिरहन सकिँदैन ।” उनले सरकारले मापदण्ड बनाएर व्यवसाय सञ्चालनको वातावरण तयार पार्नुपर्ने बताए ।

व्यवसायी पक्राउ परेपछि झन बढ्यो आक्रोश

आन्तरिक राजश्व विभागले जेठ मसान्त भित्रमा कर तिर्न सूचना जारी गरेपछि यसको तयारीमा लागेका एक व्यवसायीलाई चितवन प्रहरीले मंगलबार अपरान्ह पक्राउ ग¥यो ।

नारायणगढको मेनरोडस्थित अविनास फेन्सी स्टारका सञ्चालक थानेश्वर भुषाललाई प्रहरीले पसलबाटै पक्राउ गरेको हो । कर तिर्नका लागि आवश्यक कागजात तयार पार्न पसल पुगेका व्यक्तिलाई पक्राउ गरिएको भन्दै व्यवसायीहरुले बिरोध गरेका छन् । प्रहरीले भने लकडाउन कार्यान्वयनका लागि खटिएको अफिसरसँग नराम्रो व्यवहार गर्न खोजेपछि केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताएको छ ।

व्यवसायीहरुले भने राजश्व समयमा तिर भन्ने अनि प्रहरीले बाहिर निस्किए पक्राउ गर्ने घटनाले स्तव्ध तुल्याएको बताएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट