भरतपुर, २० जेठ
लगातारको लकडाउनले थला परेका व्यवसायीहरुलाई आगामी जेठभित्रै कर बुझाउन ताकेता गरेपछि थप तनाव बढेको छ । व्यवसाय तथा उद्योग बन्द गरेर बसेको व्यवसायीहरु कर बुझाउनुपर्ने दबाबले आत्तिएका छन् ।
सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्रै कर बुझाउन आज सूचना जारी गरेर ताकेता गरेको हो । कोरोना संक्रमणको जोखिमका कारण लकडाउन गरेको सरकारले कर भुक्तानी तोकिएकै मितिमा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना निकालेको हो ।
आन्तरिक राजस्व विभागले निकालेको सूचनानुसार २०७६ साल फागुन र चैत महिनाको कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा विवरणअनुसारको कर जेठ २५ गतेसम्म बुझाउनुपर्नेछ ।

फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा दस्तुर पनि जेठ २५ गतेसम्म बुझाउन भनिएको छ ।
त्यस्तै २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम जेठ मसान्तसम्म दाखिला गर्नुपर्नेछ ।
पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन बढाएको सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न भनेको हो । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवाना नलाग्ने पनि उल्लेख गरेको छ ।





