रुकुम घटनाको विरोधमा चितवनमा दिउँसै दीप र लालटिन

भरतपुर, १९ जेठ
रुकुममा भएको सामुहिक नरसंहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलनमा रहेका दलित समुदायले भरतपुरको चौबिसकोठीमा विरोध ¥याली र उज्यालोमा दीप प्रज्वलन कार्यक्रम गरेका छन् । संयुक्त दलित संघर्ष समिति चितवनले आयोजना गरको कार्यक्रममा दलित मुक्ति अभियानमा आवाज उठाइरहेका विभिन्न संघसंस्थासम्बद्ध व्यक्तिहरु सहभागी थिए ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य खेमबहादुर दर्जीले दलित समुदायहरुले हतियार बनाउन मात्रै नभई आवश्यक परे चलाउन पनि जानेको चेतावनी दिए । त्यसैले दलित समुदाय कमजोर छ भन्ने नसोच्न उनले सबैलाई सचेत गराए । उनले पश्चिम रुकुममा भएको नरसंहारको घटनाको विरोध गर्दै आवश्यक परेपछि जस्तो किसिमको आन्दोलन गर्न दलित समुदाय तयार रहेको बताए ।

उनले दलित समुदायमाथि पटक–पटक भएको विभेद र दमनविरुद्ध लकडाउन खुलेलगत्तै दलित समुदायको तागत र शक्ति प्रदर्शन गरेर देखाउने उद्घोष गरे । नेपाल दलित संघका पूर्व केन्द्रीय उपसभापति डीबी परियारले पश्चिम रुकुम नरसंहार सुनियोजितरुपमा घटाइएको घटना भएको र जनप्रतिनिधिहरुकै मिलेमतो रहेको दावी गरे ।

कार्यक्रमको अध्यक्षता गरेकी नेपाल दलित संघ चितवन सभापति शान्ति परियारले दलित समुदायको आत्मसम्मान भेरी नदीमा सेलाएको भन्दै सांकेतिक विरोध गरेको बताइन् । “अहिले कोभिड–१९ का कारण विश्व आक्रान्त छ तर यसले न दलित समुदाय भन्यो, न त यसले उपल्लो समुदाय भन्यो”, उनले भनिन्, “यसले त समानरुपले आफूलाई प्रस्तुत ग¥यो । तर, हामी मानव भएर पनि मानवलाई जातीय दमन र विभेद गरेको कारण सिंगो दलित समुदाय सडकमा उत्रिएका हौं ।”

नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माले पश्चिम रुकुम नरसंहारको घटनाको सुस्मरुपमा अध्ययन गरी घटनाको छानविन हुँदैन, तबसम्म संयुक्त दलित संघर्ष समिति चितवनले आन्दोलन जारी राख्ने बताए ।

कार्यक्रममा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले गणतन्त्र भएको मूलुकमा २१ औं शताब्दीमा दलित भएकै कारण नरसंहार हुन्छ भने देशमा गणतन्त्र आएको कुनै अर्थ नरहेको बताए । त्यस्तै विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले रुकुम पश्चिमका नरसंहारमा मृत्युवरण हुनुभएका सबैलाई साँस्कृतिक शहिद घोषणा गरिनुपर्छ र मृतकहरुको शालिक निर्माण गरिनुपर्ने माग राखेका छन् ।

आजै घटनाको निश्पक्ष छानविनको माग गर्दै नारायणगढको लायन्सचोकबाट भरतपुरको चौबिसकोटीसम्म उज्यालोमा लालटिन बालेर विरोध ¥याली निकालिएको थियो भने मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौनधारणसमेत गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट