खैरहनी, १७ जेठ
कोरोना भाइरस(कोभिड १९)ले अहिले विश्वलाईनै पिरोलिरहेका बेला चितवनको खैरहनीमा शनिबार सांसारिक पूजा लगाइएको छ । कोरोना भाइरसको प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका-१० शान्तिबजार र राप्ती नगरपालिका-८ भवानीबजारका स्थानीयबासी मिलेर सांसारिक पूजा लगाएका हुन् ।

रोगव्याधीले आक्रमण गरेका बेला यस्तो पूजा गर्दा प्रकोप हट्ने विश्वासका साथ पूजा लगाइएको स्थानीय हरिप्रसाद सापकोटाले बताए । रोगव्याधी फैलिएको बेला अग्रजहरुले पनि सांसारिक पूजा लगाउने चलन रहेकाले अहिलेको कोरोना भाइरसको प्रकोप अन्त्यका लागि गाउँलेहरु मिलेर पूजा लगाइएको उनको भनाई छ । वि.सं. २०१७ सालमा पनि रोगको महामारी भएका बेला सांसारिक पूजा लगाइएको अग्रजहरुले बताएको सापकोटाले जानकारी दिए ।

दुई जना पण्डितहरुले करिब ४ घण्टा लगाएर पूजा गराएका थिए । संसारिक पूजामा देवीको पूजा गर्ने गरिन्छ । पूजामा स्थानीय खेमप्रसाद दाहाल र राजु अधिकारी कर्ता थिए । पूजा गाउँको नजिक फाँटमा लगाइएको थियो । पूजा लगाउने भएपछि स्थानीयले स्वतस्फुर्त रुपमा सहयोग गरेका थिए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट तीन लाख भन्दा बढीको ज्यान जानुका साथै लाखौं प्रभावित भएका छन् । नेपालमा पनि कोरोनाबाट १ हजार ४ सय जना संक्रमित भइसकेका छन् ।





