भरतपुर, १७ जेठ
नेपालमा आज एकैदिन १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् । नेपालमा जम्मा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।
देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए।
पछिल्लो २४ घण्टामा थप १३ जना डिस्चार्ज भएका छन् ।
टेकु अस्पतालबाट २ जना, कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट ११ जना डिस्चार्ज भएका छन् । यसरी अहिलेसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या २१९ पुगेको छ ।
हालसम्म देशभर ६६ हजार ७२९ जनाको पीसीआर परीक्षण गरिएका छन् भने १ लाख ७ हजार ५५ जनाको आरडीटी परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ५७५ पीसीआर र १ हजार ५७७ आरडीटी परीक्षण गरिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि भएको विवरण :
- कपिलवस्तु १०९
- सर्लाही १७
- दैलेखका १४ जना
- सिरहा ११
- सप्तरीका ९
- धनुषा ७
- रौतहट ६
- दाङ ५
- महोत्तरी ४
- पर्सा २
- संखुवासभा २
- झापा १
- ललितपुर १
- बारा १





