शिव गौतम
भरतपुर, १९ चैत
कोरोना भाइरस संसारका २०० राष्ट्रहरूमा फैलिसकेको छ । चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको यो भाइरसको ठूलो असर भने अमेरिका र यूरोपमा देखिएको छ ।
नेपालमा कोरोना भाइरसको उपचार गर्न उपयुक्त प्रणालीको विकास नै भइसकेको छैन । यसकारण नेपालमा उक्त भाइरसले पु¥याउन सक्ने असर कल्पनाभन्दा पनि बाहिरको कुरा हो । तर यति भन्दै गर्दा चिकित्सा क्षेत्रमा राम्रा मानिएका देशमा समेत कोरोना भाइरसले भयावह अवस्था सृजना गरेको छ ।

कोरोना भाइरसका सबैभन्दा धेरै १ लाख ६४ हजारभन्दा बढी संक्रमित भएको देश संयुक्त राज्य अमेरिकामा पनि थुप्रै नेपालीहरू बसोबास गर्दै आएका छन् । न्यूयोर्क राज्यमा कोरोना भाइरसका संक्रमित र भाइरसका कारण मर्नेहरूको संख्या अमेरिकामै सर्वाधिक रहेको छ । “अमेरिकामा लकडाउन नै त लागू भइसकेको छैन, तर पनि अति आवश्यक अन्तर्गत नपर्ने ठाउँहरूमा मानिसहरूको भीड हुन बन्द भइसकेको छ”, धरान उपमहानगरपालिका घर भई टेनेसी राज्यको मेम्फिस शहरको लेबोन्युर बाल अस्पतालमा कार्यरत डा. गोविन्द पौडेलले भने । मार्च २४ तारिखको साँझ ६ बजेदेखि लागू हुने गरी त्यहाँका मेयरले सेल्टर एट होम नियम जारी गरेको उनले बताए । “अस्पताल र क्लिनिक अत्यावश्यक सेवामा पर्ने भएकाले खुल्ला नै छन् । यद्यपि गम्भीर प्रकृतिका बिरामीको मात्रै जाँच गर्ने र अन्य शल्यक्रियाहरू सारिएका हुनाले अस्पतालमा भीड कम भइसकेको छ”, उनले सुनाए । कोरोनाको संक्रमण हुन नदिन महत्त्वपूर्ण कन्फरेन्स र छलफल अनलाइनकै माध्यमबाट हुनथालेको पनि उनले बताए । कामको चाप घट्दा विभिन्न क्षेत्रमा जागिर गुमाउनेको संख्या पनि बढ्न थालेको उनले सुनाए । कोरोनाका संक्रमितको संख्या सो शहरमा पनि बढ्ने क्रममा रहेकाले जनजीवन प्रभावित भएको भनाइ उनले राखे ।
अमेरिकाको छिमेकी राष्ट्र क्यानडामा पनि त्यहाँको सरकारले लकडाउन जारी गरेको छ । क्यानडामा पनि अत्यावश्यक मानिएका सेवाहरूलाई मात्रै सञ्चालनमा अनुमति दिइएको छ । “कोरोनाको जोखिम बढेपछि यहाँ पनि सरकारले लकडाउन सुरु ग¥यो । यहाँका जनताहरू रोगले निम्त्याउन सक्ने परिस्थितिका बारेमा सचेत रहेकाले घरबाट बाहिर निस्केका छैनन्”, क्यानडास्थित अल्बर्टा प्रान्तको क्यालगरी शहरमा बस्दै आएका खड्ग क्षेत्रीले भने । खड्क त्यहाँको एक अस्पतालमा कार्यरत छन् । पछिल्लो तथ्याङ्क अनुसार उनी रहेको प्रान्तमा कोरोना संक्रमितको संख्या ६ सय नाघेकोे छ । “यहाँ पनि अस्पताल र केही ठूला स्टोरहरू मात्रै सञ्चालनमा छन् । समूहमा हिँड्न पाइँदैन । सामन किन्न जाँदा पनि मानिसहरूसँग दूरी बनाउने गरेका छौं”, उनले थपे । संक्रमणको शंका भएका व्यक्तिले ८११ वा ९११ मा फोन गरेमा अस्पतालबाटै स्वास्थ्यकर्मीहरू उसलाई लिन पुग्ने गरेको उनले बताए । बिरामीको सम्पर्कमा आउने सबै स्वास्थ्यकर्मीका लागि सरकारले रक्षात्मक उपकरण जस्तै पीपीई, पञ्जा, मास्क, आदिको व्यवस्था गर्ने गरेको उनले बताए । त्यस्तै बिरामीलाई राख्न पनि सुविधायुक्त आइसोलेसन वार्डहरू स्थापना गरिएको उनले सुनाए ।

यता भारतको राजधानी नयाँ दिल्लीमा बस्दै आएकी सुधा मिश्रले जनजीवन कष्टकर बन्दै गएको बताइन् । भारतमा २४ मार्चदेखि २१ दिनका लागि लकडाउन गरिएको हो । जबकी विभिन्न अध्ययनले २१ दिनको लकडाउन भाइरसको रोकथामका लागि पर्याप्त नहुने बताउँदै आएका छन् । “घरदेखि बाहिर निस्कन पाइएको छैन । बाँचिएला कि मरिएला जस्तो भएको छ”, सुधाले भनिन् । रासन कार्ड भएकालाई सरकारले खाद्यान्न सहयोग गरिरहेको भएपनि आफूहरूको भने कार्ड नभएको उनले बताइन् । “सहयोगको लागि भारत सरकारको मुख ताकेर कहिलेसम्म बस्ने होला ? काम गर्न पाइएको छैन । कोठा भाडा कसरी तिर्ने भन्ने पीरले सताउन थालेको छ”, उनले दुःख बिसाइन्, “घरमा बसेजस्तो नहुने रहेछ ।”
यस्तै धेरै नेपालीहरू रहेको देशको रूपमा जापानलाई पनि लिइन्छ । जापनमा पनि कोरोना भाइरसको उच्च जोखिम छ । यद्यपि त्यहाँको सरकारले लकडाउन भने गरिसकेको छैन । देशका विभिन्न होटलमा मानिसको उपस्थिति पातलो हुँदै गएको छ । जसकारण रोजगारका लागि जापान पुगेका नेपालीहरू काम नपाउने अवस्थामा पुग्न लागेका छन् । “कोरोना संक्रमितको संख्या हिजोभन्दा आज र आजभन्दा भोलि बढ्ने क्रममा छ । लकडाउन जारी नभएपनि विद्यालय, पसल, होटल तथा क्लबहरू बन्द छन्”, भरतपुर घर भई टोकियो बस्दै आएकी शकुन्तला खरेल कंडेलले बताइन् । “मानिसहरूको आवतजावत कम भएकाले होटलहरूको व्यापार घट्ने क्रममा छ । जसकारण होटेल व्यवसायमा लागेका नेपालीहरूलाई हातमुख जोर्नमा समस्या उत्पन्न हुन थालेको छ”, उनले सुनाइन् । खर्च कसरी धान्ने होला भन्ने पीरले सताउने गरेको र आउने दिनहरूमा अवस्था सप्रदै जाओस् भनेर प्रार्थना गर्नु बाहेक अरु उपाय नरहेको उनले जानकारी दिइन् । नेपालमा रहेका घरपरिवारसँग नियमित रूपमा भिडियो कलमार्फत कुराकानी हुने गरेको पनि उनले सुनाइन् । “घरबाट आमाबुबाले भीडमा नजानू, मास्क लगाउनू, आफ्नो ख्याल राख्नू भनेर भन्नुहुन्छ”, उनले बताइन् ।

यस्तै गैंडाकोट घर भई जापानको उचिनोमिया शहरमा बस्दै आएकी शान्ति गौतमले पनि कोरोना भाइरसको सन्त्रासका कारण होटेल तथा रेष्टुरामा ग्राहकको संख्या घट्दै गएको बताइन् । “जापानमा उपचार प्रणाली नेपालको भन्दा राम्रो हुने भएकाले नेपालमा जस्तो डराउनुपर्ने अवस्था त छैन । तर नयाँ भाइरस भएकाले र भ्याक्सिन नभएकाले मानिसहरू डराएका छन्”, शान्तिले भनिन् ।
संयुक्त राज्य अमेरिकामा मात्रै कोरोना भाइरसका तीन जना नेपाली संक्रमित फेला परेका छन् । त्यहाँ एक नेपालीले ज्यान गुमाएका छन् । कुवेतमा एक नेपालीमा भाइरसको परीक्षण पोजेटिभ आएको छ । पोर्चुगलमा ९ जना नेपालीमा सो रोगको संक्रमण भेटिएको छ । युएईमा भने हालसम्म ६ नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ संक्रमित भएका दुई नेपाली भने उपचार पछि काममा फर्किसकेका बताइएको छ । यस्तै, बेलायतमा पनि कोरोना भाइरसका कारण नेपाली मूलका दुई जनाले ज्यान गुमाएका छन् । त्यहाँ एक नेपाली उपचार पछि ठीक भइसकेकी छिन् भने थप एकको उपचार भइरहेको जनाइएको छ । अस्ट्रेलियामा ९ जना नेपाली संक्रमित भेटिएका छन् । उनीहरूमध्ये ४ जना भने निको भइसकेका छन् ।
विदेशमा आफूलाई असुरक्षित ठानेर नेपाल फर्कन चाहेका कोही नेपाली छन् भने सरकारले तिनको संख्या तयार पारेर जतिसक्दो चाँडो स्वदेश फिर्ता ल्याउन तयारी गर्नुपर्ने देखिन्छ ।





