लकडाउनसँग अभ्यस्त बन्दै नेपालीहरू

भरतपुर, चैत १९
दमक नगरपालिका वडा नं ५ निवासी जानुका सुवेदी एक हप्तादेखि घर बाहिर निस्किएकी छैनन् । कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै उनले नियमित रूपमा हात धुने गरेकी छिन् । प्राय: नेपालीबरुको भोगाई अहिले यस्तै छ ।

शिव गौतम

नोबल कोरोना भाइरसले संसारभरि नै महामारीको रूप लिएपछि त्यसको रोकथामका लागि नेपालमा पनि लकडाउन जारी गरिएको हो । यसभन्दा अगाडी देशमा विभिन्न प्रकारका निषेधाज्ञा जारी भएपनि कुनै महामारीका कारण देश नै लकडउन गर्नु परेको भने यो पहिलो घटना हो । चैत ११ गते यता अत्यावश्यक कामका लागि बाहेक अरु अवस्थामा घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । सामान्यतः कहिले यता र उता गरेर बित्ने मान्छेको दैनिकी अचेल घरभित्र मात्रै सीमित भएको छ ।

धरान उपमहानगरपालिका घर भई काठमाण्डौं बस्दै आएकी सुस्मिता सापकोटा लकडाउनको समयमा कार्यालयको काम घरबाटै गरिरहेको बताउँछिन् । “बाहिर हिँडडुल गर्न नमिल्ने भएकाले अफिसको काम घरबाटै गर्ने गरेको छु”, सुस्मिताले भनिन् । घर बाहिर निस्कन परेमा पनि संक्रमणबाट जोगिन विभिन्न उपाय अपनाउने गरेको उनी बताउँछिन् । “तरकारी वा अरु खानेकुरा किन्न प¥यो भने नजिकका स्टोरमा मात्रै जान्छु । पसलमा पनि ग्राहक र दोकानदारसँग दूरी कायम राखेर सामन किन्ने गरेकी छु”, उनले अगाडी भनिन् । कोठामा पस्नुअघि हातखुट्टा धुने तथा सामन डिसइन्फेक्ट गर्ने गरेको उनले बताइन् । लकडाउनका समयमा धेरै फुर्सद हुने हुनाले बाँकी समय पुस्तक पढेर तथा फिल्म हेरेर बिताउने गरेको उनले सुनाइन् । “लकडाउनको समयमा पाइथन कम्प्युटर प्रोग्रामिङ सिकिरहेकी छु”, सुस्मिताले भनिन् । देशलाई बचाउने यो राम्रो मौका भएको बताउँदै उनले सबैलाई घरभित्रै रहन पनि आग्रह गरिन् ।

 

 

यता विराटनगर महानगरपालिका घर भई भक्तपुरको बालकोट बस्दै आएका आयुष तिमिल्सिना पनि लकडाउनको समय अध्ययनमै बिताउने गरेको बताउँछन् । “अहिले समय रिसर्च पेपर तयार गर्न खर्चिने गरेको छु”, आयुष अगाडी भन्छन्, “नर्सिङ र एचए विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि पढाउँछु । उनीहरूलाई के पढाउने भनेर पनि तयारी गर्दैछु ।” लकडाउनमा बचेको समय उपन्यास पढेर तथा भाइरससम्बन्धी जानकारी लिएर बिताउने गरेको उनले सुनाए ।

सधैंजसो व्यस्त रहने मानिसहरूले यो समयलाई परिवारसँग बिताउने मौकाका रूपमा लिएका छन् । भरतपुर महानगरपालिका वडा नं ४ निवासी विद्या सापकोटा पनि लकडाउनको समय परिवारका सदस्यसँग कुराकानी गर्दै विताउने गरेको बताउँछिन् । “अरुबेला म कलेजमा हुन्थेँ, बाबा आफ्नै व्यवसायमा मामु घरको काममा व्यस्त हुनुहुन्थ्यो । यो समयमा सबैसँग बसेर कुराकानी गर्ने मौका मिलेको छ”, उनले भनिन् । सामान्य रुघाखोकीलाई पनि कोरोनासँग दाँज्नाले भने डर बढी फैलिएको उनको भनाइ थियो । “कोरोना आशंका गरिएका मान्छे दिनदिनै मरिरहेका छन् । कोरोना हो वा होइन भन्ने पुष्टि नहुँदै हल्ला फिँजाउँदा मानिस बढी त्रसित बनेका छन्”, उनले सुनाइन् । सामान्य रुघाखोकी हुँदा पनि कोरोनाको शंका गरिनु गलत भएको उनले बताइन् ।

यस्तै भरतपुर महानगरपालिका वडा नं १५ निवासी सुनिल सापकोटा पनि लकडाउन अवधि सुरु भएपछि घर बाहिर ननिस्किएको बताउँछन् । “घरमा छोराछोरी छन्, उनीहरूसँग खेल्दा समय बितेको नै पत्तो हुँदैन”, सुनिलले भने । सर्पको उद्धार गर्ने काम गर्दै आएका उनी लकडाउन सुरु भएपछि सर्पसम्बन्धी अध्ययनमै व्यस्त रहेको बताउँछन् । “अहिले रिसर्च पेपर तयार गर्दैछु”, उनले कायाकैरनसँग भने । आफू घरबाहिर ननिस्कने भएपनि अरु हिँडेको देख्दा डर लाग्ने गरेको उनी सुनाउँछन् । “दिनभर डुलेर समय बिताउने मान्छेहरूलाई लकडाउनमा एकै ठाउँमा बस्न अफ्ठेरो भइरहेको होला”, हाँस्दै उनले अगाडी भन्छन्, “केही काम प¥यो भनेर मान्छेहरू घरमा आउँछन् । बोलौं कि नबोलौं अफ्ठेरो पर्छ ।” यस्तै अफवाहका कारण बालबालिकामा नकारात्मक असर पुग्नसक्ने पनि उनले बताए ।

कतिपयले भने लकडाउनका कारण पसल बन्द रहँदा घरमा खाद्यान्य तथा औषधि सकिएको गुनासो गर्ने गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट